मेस्सी बिनाको बार्सिलोना नक्कली मुकुट गरेको भूत जस्तै, कसैलाई डर नै छैन !

बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोमनले मेस्सी हुँदा र मेस्सी बिनाको बार्सिलोनामा ठूलो फरक रहेको स्वीकार गरेका छन्। मेस्सी सहितको बार्सिलोनासँग विपक्षी टोली खुब डराउने बताउँदै मेस्सी बिनाको बार्सिलोना विपक्षीका लागि कम डरलाग्दो भएको बताएका छन्।

२१ वर्षीय लामो बार्सिलोना करियरको अन्त्य गर्दै यहि सिजन मात्र अर्जेन्टिनी कप्तान फ्रेन्च क्लब पीएसजी प्रस्थान गरेका हुन्। १७ वर्षपछि मेस्सी बिना लालिगा दौडमा उत्रिएको बार्सिलोनाले सिजनको पहिलो दुई खेलमा एक जीत हात परेको छ भने एक खेल बराबरीमा सकिएको छ। सिजनको पहिलो खेलमा रियल सोसीडाडलाई ४-२ ले पराजित गरेको बार्सिलोना गयराती भएको दोस्रो खेलमा एथलेटिक बिल्वाओसँग १-१ को बराबरीमा रोकियो।

खेलपछि पोस्ट-म्याचमा बोल्दै कोमनले भने,”मलाई सधैं एउटै कुरा गर्न मन पर्दैन तर हामी विश्व कै सर्वोत्कृष्ट खेलाडीको बारेमा कुरा गर्दै छौं। मेस्सी हुँदा विपक्षी टोली निकै डराउँथे, हाम्रो लागि पनि मेस्सी हुँदा निकै सजिलो हुने गर्थ्यो।”

गयरातीको खेलमा बार्सिलोनाले एक गोलले पछि परेको स्थितिमा खेललाई बराबरीमा रोक्न सफल भएको हो । घरेलु टोली बिल्वाओका इनिगो मार्टिनेजले गोल गर्दा बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काए । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

बराबरीपछि बार्सिलोनाको २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । बिल्वाओले २ खेलबाटै २ अंक जोडेको छ । बार्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडमाथि ४–२ को जित निकाल्दा बिल्वाओले इल्चेसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८१६:२५

पीएसजीबाट एक खेल पनि नखेल्दै अर्को क्लबसँग ट्रान्सफरको योजना बनाउँदै मेस्सी !