पीएसजीसँग भर्खरै मात्र अनुबन्ध भएका पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सीले अहिलेसम्म क्लबबाट एक खेल पनि खेलेका छैनन्। तर पीएसजी पछि उनको अर्को गन्तव्यको बारेमा भने चर्चा सुरु भइसकेको छ। जससँगै मेस्सीले आफ्नो करियर फ्रान्समा अन्त्य नगर्ने सम्भावना बढेको छ।
केहि रिपोर्टलाई आधार मान्ने हो भने एमएलएस क्लब इन्टर मायामीका मालिक पूर्व पीएसजी स्टार डिभिड बेक्याम पीएसजी स्टार मेस्सीसँग सम्भावित ट्रान्सफरको बारेमा कुरा गर्न सम्पर्कमा रहेका छन्। भर्खरै मात्र २१ वर्ष बार्सिलोनामा बिताएपछि मेस्सीले क्लब छाड्ने चर्चाले सारा विश्व फुटबलमा नै तहल्का मच्चिएको थियो।
मेस्सीले ५० % पारिश्रमिक कटौती गरेर बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न तयार भए पनि लालिगाको आर्थिक नियमका कारण मेस्सी र बार्सिलोना बीच थप सम्झौता हुन नसकेपछि उनले फ्रेन्च क्लब पीएसजीसँग २ वर्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन्। जसमा थप १ वर्ष क्लबसँग सम्झौता थप गर्न सकिने विकल्प पनि रहेको छ।
यस्तोमा मायामी मालिका बेक्याम मेस्सीसँग सम्पर्क गर्न कुनै समय खेर फाल्ने पक्षमा देखिएनन्। द डिल्ली मिररको एक रिपोर्टका अनुसार हालै मात्र बिदा मनाउन मायामी गएका मेस्सीले त्यहाँ एक आलिसान महल खरिद गरेका छन्। उक्त रिपोर्टका अनुसार ६ पटकका ब्यालुन डी ओर स्टारले बेक्यामसँगको कुराकानी पश्चात पीएसजीपछि मायामी प्रस्थान गर्ने योजनामा रहेको हुनुपर्छ।
बेक्यामले यसअघि पनि मेस्सी र युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोलाई इन्टर मायामीसँग अनुबन्ध गराउने इच्छा सार्वजनिक रूपमा व्यक्त गरेका थिए।