बार्सिलोनासँग यहि सिजनबाट जोडिएका डच स्ट्राइकर मेम्फिस डिपाएले मेस्सीसँग खेल्न असमर्थ भएकोमा दुख व्यक्त गरेका छन्। यहि सिजन मात्र फ्रेन्च क्लब लियोनबाट फ्री-ट्रान्सफरमा बार्सिलोनासँग अनुबन्ध भएका डिपाएले गयराती एथलेटिक क्लब विरुद्ध बार्सिलोनाका लागि पहिलो आधिकारिक गोल गरेका छन्।
बार्सिलोनासँग अनुबन्ध भएसँगै क्लबका पूर्व कप्तान लियोनल मेस्सीसँग खेल्नु एक सपना भएर र त्यसका लागि आफू निकै उत्सुक रहेको बताउने डिपाएले ३४ वर्षीय स्ट्राइकरलाई हाई सम्म भन्न पाएनन्। कोपा अमेरिकापछि बिदामा रहेको कारण मेस्सी क्लबसँग जोडिन सकेनन्। जब क्लबसँग नयाँ सम्झौता हस्ताक्षर गर्नको लागि बार्सिलोना आइपुगे तब त्यो सम्भव नै भएन। जसको कारण २१ वर्षको बसाईपछि ६ पटकका ब्यालुन डी ओर विजेताले बार्सिलोना छाड्न बाध्य भए।
बार्सिलोना छाडेर पीएसजीसँग अनुबन्ध भएका मेस्सीसँग एक पटक पनि भेट नभएकोमा बार्सा स्ट्राइकर डिपाएले असन्तुष्टि जनाएका छन्। उनले भने,”मैले मेस्सीलाई जान्ने मौका पनि पाइन। उनी कोपा अमेरिकापछि को बिदाका कारण प्रि-सिजनमा ढिला आएका थिए। मैले उनलाई हाई पनि भन्न पाइन।”
मेस्सीसँग खेल्ने आफ्नो सपना पूरा नभएता पनि आफूले क्लबलाई अगाडी बढ्न सक्दो मद्दत गर्ने डिपाएले बताए। उनले क्लब प्रशिक्षक रोनाल्ड कोमनसँग आफ्नो सम्बन्धको बारेमा पनि बोले। “कोमनले म बाट के चाहन्छन् मलाई थाहा छ, मैले के गर्नु पर्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। हामी बीच राम्रो सम्बन्ध रहेको छ र त्यही नै महत्वपूर्ण कुरा हो, डिपाएले भने।
मेस्सी बिनाको बार्सिलोनाले यो सिजन कस्तो प्रदर्शन गर्छ भन्ने त हेर्न बाँकी छ। लालिगाको पहिलो दुई खेलमा बार्सिलोनाले एक खेलमा जीत निकाल्दा एक खेल बराबरी खेल्दै ४ अंक जोड्न सफल भएको छ।