काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै कांग्रेसमा मन्त्रीका आकांक्षीहरुले ‘लबिङ’ तीव्र पारेका छन् । कांग्रेसको संस्थापनइतर समूहले उपप्रधानमन्त्रीसहित मन्त्रालयहरुको सुनिश्चितता खोजेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
संस्थापनइतर समूहमा मन्त्रीका आकांक्षी धेरै छन् । संस्थापन समूहमा पनि मन्त्रीका आकांक्षी धेरै भएका कारण प्रधानमन्त्री देउवालाई मन्त्री छनौटमा सकस छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कांग्रेसका लागि सात मन्त्रालय आफूसँग राखेर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (प्रस्तावित दल) र जसपाका लागि छ÷छ मन्त्रालय छुट्टयाएका छन् ।
प्रधानमन्त्री बन्न सघाउने दलहरुलाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएका कारण कांग्रेसको भागमा कम मन्त्रालय परेका छन् । यस्तो अवस्थामा मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई हम्मेहम्मे परेको छ । कांग्रेस संस्थापन समूहले यसअघि नै दुई मन्त्री पाइसकेको छ ।
अब बाँकी रहेका चार मन्त्रालयमध्येबाट संस्थापन इतर समूहले उपप्रधानसहित मन्त्रालय मागेको र ‘तेस्रो धार’को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलालाई पनि मन्त्रालय दिनुपर्ने बाध्यात्मक अवस्थामा प्रधानमन्त्री देउवा छन् ।
कांग्रेसको संस्थापन समूहबाट पुष्पा भुसाल, डा. डिला संग्रौला, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, भरत शाह, डा. नारायण खड्का आकांक्षी देखिएका छन् । संस्थापन इतर समूहले महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये कुनै एक जनालाई उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा सहभागिताका लागि सिफारिस गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
इतर समूहबाट डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू पनि मन्त्री बन्ने ‘लबिङ’ मा छन् । यस्तै संस्थापन समूह छाडेर इतर समूहमा गएका रुपन्देहीका सांसद विजय यादव, सप्तरीका तेजुलाल चौधरी, उदयपुरकी प्रमिला राई पनि आकांक्षीका रुपमा देखिएका छन् । यस्तै १३ औं महाधिवेशनदेखि कांग्रेसमा ‘तेस्रो धार’ भनिने सिटौला समूहबाट सांसदहरु गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी पनि आकांक्षी छन् ।
देउवा प्रधानमन्त्री बनेको डेढ महिनापछि उनको मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएलगत्तै मन्त्रिपरिषद् विस्तार हुनेछ । नेकपा एमालेबाट अलग भएर नेपालले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । नेपाल समूहलाई आयोगले बुधबार सनाखतका लागि बोलाएको छ । सोही दिन उनीहरुले दल दर्ताको प्रमाणपत्र पाउने सम्भावना छ । नेपाल समूहले दल दर्ताको प्रमाणपत्र पाएपछि मन्त्रिपरिषद् विस्तार गरिने कांग्रेस उच्च स्रोतले जनाएको छ ।