काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ पार्टी खोल्न माधव कुमार नेपालले हतार गरेको आरोप लगाएका छन्। सोमबार बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेता भट्टराईले एकता बचाउने प्रयास भइरहेका बेला माधव नेपालले नयाँ पार्टी खोल्न हतार गरेको आरोप लगाएका हुन्।
प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले पार्टी एकताका लागि विभिन्न प्रयास भइरहेका बेला खोलिएको पार्टीमा आफूहरु हुन नसक्ने भट्टराईले बताए। पार्टी विभाजन गर्ने कार्यमा आफूहरुको साथ नहुने कुरा माधव नेपाललाई पहिला नै स्पष्ट पारिसकिएको उनको भनाई छ।
भट्टराईले नयाँ पार्टी गठन गर्ने विषयमा माधव नेपालले आफूपक्षीय स्थायी कमिटी सदस्यहरुसँग छलफल नगरेको पनि आरोप लगाएका छन्। काठमाडौंको बुद्धनगरमा बसेको माधव पक्षीय केन्द्रीय कमिटी बैठकको म्यान्डेट विभाजन नभएको उनले बताए।
“आजका दिनमा माधवकुमार नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँबारे म धेरै बोल्दिनँ। उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो।यसअघिको केन्द्रीय कमिटीको म्यान्डेट विभाजन होइन एकता थियो। उहाँले हतारमा त्यो म्यान्डेट बाहिर गएर पार्टी दर्ता गर्नु भयो”,भट्टराईले भने।