ओलीलाई चर्को गाली गर्नेले नै दिएनन् माधव नेपाललाई साथ ! को-को ? [सूची सहित]

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन्। पार्टीभित्र नेपाल पक्षसँगै रहेका नेताहरूले विवाद सुल्झाउन असार २७ गरेको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्नुपर्ने माग राखेपछि ओली सहमति कार्यान्वयन गर्न सहमत भएका हुन् यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

विभाजन रोक्ने अन्तिम प्रयास असफल भए पनि एकता पक्षधर नेताहरूले एमालेलाई थप क्षति हुनबाट रोक्न असार २७ को सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए। सोमबार बिहान ओलीसहित मध्यमार्गी नेताहरूबीच भएको संवादपछि विवाद सुल्झाउन २०७५ जेठ २ अघिका सबै कमिटी ब्युँताइने भएको हो।

सुरुमा सबै कमिटी ब्युँताउने र त्यसपछि सबैको जिम्मेवारी बाँडफाँड गरी अघि बढ्ने सहमति भएको छ। त्यसका लागि १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ। पार्टीका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सदस्य रहने गरी कमिटी गठन भएको हो। यो कमिटीले मंगलबारको स्थायी समिति बैठकअघि प्रस्ताव तयार गर्ने भएको छ।

एमाले अध्यक्ष ओलीले पार्टीभित्र कुनै पनि स्थान नदिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवदेन दिए पनि दोस्रो पुस्ताका नेताहरू भने पार्टी एकताकै पहलमा लागिरहेका थिए। नेपाल नयाँ दल दर्ता गर्न जाँदा असहमत रहेका नेताहरूले गत बिहीबार सामूहिक छलफल गरेर पार्टी विभाजन गर्न नहुने भन्दै ओलीलाई १० बुँदे कार्यान्वयनको ग्यारेन्टी गर्न र नेपाललाई निर्णय सच्याउन आग्रह गरेका थिए। तर नेपाल दल दर्ताबाट फिर्ता नहुनेगरी केन्द्रीय सदस्यहरूको भेलामा लागेका छन्। उनले दुई दिनसम्म चन्द्रागिरिमा आफू निकट केन्द्रीय सदस्य र सांसदलाई राखेर प्रशिक्षण दिइरहेका छन्।

मध्यमार्गी धारमा रहेका नेताहरूले भने असार २७ गते गरिएको १० बुँदे कार्यान्वयन भएमा पार्टी विभाजन गर्नुको औचित्य नभएकाले नेपाललाई दल दर्ताबाट पछि हट्न आग्रह गरेको बताएका छन्। भीम रावल, युवराज ज्ञवाली, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघु पन्त तथा योगेश भट्टराईले १० बुँदे सहमति अक्षरशः पालना र कार्यान्वयन गर्नुपर्ने बताउँदै आएका थिए। गत बुधबार नेपाल समूहका स्थायी कमिटी सदस्यमध्ये मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्रै दल दर्तामा सहमति जनाएका थिए।अन्य सदस्य पार्टी विभाजन गलत भएको जनाउँदै सो निर्णय प्रकृयामा सहभागी भएका थिएनन्।

गत शुक्रबार स्थायी कमिटी सदस्यहरूले केन्द्रीय सदस्यहरूको भेला बोलाएर ओलीलाई १० बुँदे कार्यान्वयन गर्न थप दबाब दिएका थिए। बालकोटमा ओलीसँगको छलफलपछि पार्टीका सचिव योगेश भट्टराईले अलग्गै दल निर्माण गर्दा नेपाललाई आफूहरूले साथ नदिने भनेर धेरै अघि नै जानकारी गराएको बताएका थिए।

उनले १० बुँदे कार्यान्वयन भए सबैलाई न्याय हुने समेत बताएका थिए। ‘अध्यक्ष कमरेडले अत्यन्तै सकारात्मक धारणा व्यक्त गर्नुभएको छ। पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार छु भन्नुभएको छ। कसैप्रति भेदभाव र अन्याय हुँदैन भन्ने सुनिश्चितता अब स्थायी कमिटी बैठकले गर्छ भन्नुभएको छ। अब सबै साथीलाई विभाजनको पक्षमा नलागी एकतामा लाग्न आह्वान गर्छु’, सचिव भट्टराईले भने।

माधव नेपाललाई ३८ जना केन्द्रीय सदस्यले पार्टी विभाजनका लागि साथ दिएका थिएनन्। नेपाल समूहमा रहेर ओलीलाई चर्को गाली गर्नेहरूले नै अन्तिम समयमा दल विभाजन हुँदा साथ दिएनन्। भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, परशुराम मेघी गुरुङ, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, गोकर्ण विष्ट, भीम आचार्य, हरि राई, सोमप्रसाद पाण्डे, माधव अर्याल, झपट रावल, टंक कार्की, अरूण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, ममता गिरी, जिवन घिमिरे, निरज आचार्य, माधव अर्याल, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, केदार न्यौपाने, धर्मराज निरौला, रचना खड्का, नरेश खरेल, श्रीप्रसाद साहलगायतका केन्द्रीय सदस्यले नेता नेपाललाई पार्टी मिलाउन दबाब दिए पनि नेपालले नयाँ दल गठनको प्रकृया अघि बढेकाले पछाडि नहट्ने जवाफ दिएका थिए।

प्रकाशित : मङ्गलबार, भदौ ०८, २०७८०८:०८

दलसम्वन्धी अर्को अध्यादेश ल्याउँदै देउवा !