पूर्व युभेन्टस अध्यक्ष जियोभानी कोबोल्ली गिग्लीका अनुसार स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लबको सरी-ए उपाधि जित्ने सम्भावना न्युन बनाइरहेको कारण उनलाई युभेले जति सक्दो छिटो बेच्न सुझाव दिएका छन्। रोनाल्डोले २०१८ मा रियल म्याड्रिडबाट युभेन्टस प्रस्थान गर्दै ४ वर्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए।
क्लबसँगको सम्झौतामा अब १ वर्ष मात्र बाँकी रहँदा उनले क्लब छाड्ने चर्चा लगातार आइरहेको छ। केहि रिपोर्टका अनुसार रोनाल्डो आफैंले आइतबार उडिनेसे विरुद्धको खेलमा आफूलाई सुरुवाती ११ मा नराख्न आग्रह गरेका थिए। जसपछि युभेमा उनको भविष्य नरहेको चर्चा चल्न सुरु भएको छ।
यस्तोमा, गिग्लीका अनुसार उनको पूर्व क्लबले जति सक्दो छिटो रोनाल्डोबाट छुटकारा लिन आवश्यक रहेको छ। सरी ए न्युजसँग बोल्दै उनले भने,”मैले पहिलेबाट नै भन्दै आएको छु, रोनाल्डोलाई अनुबन्ध गर्नु युभेन्टसको गल्ती थियो। रोनाल्डोमा क्लबले गरेको लगानी उठाउन असम्भव छ।”
५ पटकका ब्यालुन डी ओर विजेताको बारेमा थप बोल्दै उनले रोनाल्डो निकै उत्कृष्ट खेलाडी भए पनि उनले जति छिटो इटाली छाड्छन् दुबै पक्षलाई फाइदा हुने बताए। गिग्लीका अनुसार रोनाल्डोको उपस्थितिले क्लबको आक्रमण पङ्क्तिलाई हानि भएको र रोनाल्डो बिना नै क्लब उत्कृष्ट हुनेछ।
रोनाल्डोले पनि यहि सिजन युभेन्टस छाड्ने सक्दो प्रयास गरिरहेको बताइएको छ। तर रोनाल्डोका लागि कुनै पनि क्लबले अहिलेसम्म कुनै प्रकारको प्रस्ताव भने राखेका छैनन्।