काठमाडौँ – नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टी ‘पुलमुनीको खेत’ जस्तै रहेको बताएका छन्।
बुधबार नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएपछि बिहिबार एक ट्वीट गर्दै बाँस्कोटाले उक्त पार्टीलाई ‘पुलमुनीको खेत’को संज्ञा दिएका हुन्।
बुधबार एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीले अबको चार महिनामै माओवादी केन्द्र र आफूहरु बीच एकता हुने बताएका थिए। त्यसप्रति लक्षित गर्दै नेता बाँस्कोटाले चार महिनामै प्रचण्डमा विलिन हुन् दंगदास भएको टिप्पणी गरेका छन्।
“पुलमुनीको खेत कित्ता नं १६६ वाला लालपुर्जे काका दंगदास भैराथे।किन रै छ भनेको त चार मैहिनामै प्रचण्डमै विलीन हुन रैछ।”,ट्वीट गर्दै बाँस्कोटाले भनेका छन्।
पुलमुनीको खेतमा घर बनाउन नसकिने र धान पनि नफाल्ने बाँस्कोटाको भनाई छ। पसीना पानीमा, मल बीऊ बाढीमा जाने हुँदा हात टाउकोमा राख्नु बाहेक विकल्प नहुने बाँस्कोटाले ट्वीटरमा उल्लेख गरेका छन्।
बाँस्कोटाले थप लेखेका छन्,”हे! राम, राम, राम पुलमुनीको खेतमा न त बन्छ घर, न फल्छ धान, मकै। पसीना पानीमा, मल बीऊ बाढीमा हात मात्रै टाउकोमा!”