काठमाडौँ – नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने जिम्मा आफूले लिएको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) पार्टीले आधिकारिकता पाएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने जिम्मेवारी आफूलाई दिइएको र आफूले जिम्मेवारी पूरा गरेको बताएका हुन्।
सरकारमा ओलीको मनपरी चलेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादवसँग, बाबुराम भट्टराईसँग र कांग्रेस सभापति शेरबहादुर देउवा आफूले छलफल गर्दा नेताहरुले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने जिम्मेवारी आफूलाई दिएको खुलासा नेता नेपालले गरे।
“सरकारमा ओलीको मनपरी चलेपछि मैले नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग, उपेन्द्र यादवसँग, बाबुराम भट्टराईसँग र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेको थिएँ। उहाँहरूसँगको छलफलपछि ओली हटाउने जिम्मेवारी मलाई नै आएको थियो। त्यसको नेतृत्व पनि मैले नै गरेको थिएँ।”,उनले भने।
सरकारमा जान्छौं
अध्यक्ष नेपालले नयाँ दल खोलेसँगै अब सरकारमा जाने बाटो खुलेको पनि बताए। सरकारमा गएर काम गर्न बाटो खुलेको भन्दै उनले पाँच दलीय गठबन्धन बीच सहाकार्य कायम रहने नेपालको भनाई छ।
उनले भने,”सरकारमा गएर काम गर्न अब बाटो खुलेको छ। अब सरकारमा जान्छौँ, पाँच दलीय गठबन्धन पनि अघि बढ्छ।”