एजेन्सी – युवा स्टार किलियन एम्बाप्पेले चार सिजन पेरिस सेन्ट जर्मेन(पिएसजी)मा बिताए। धेरै महँगो रकममा पिएसजीमा अनुबन्धित भएका एम्बाप्पेले पिएसजीमा रहेर विभिन्न घरेलु उपाधि जिते भने च्याम्पियन्स लिगको फाइनल सम्मको यात्रा समेत तय गरे।
यस बीचमा विभिन्न पटक एम्बाप्पे र पिएसजीका अर्का स्टार नेयमार बीच खटपट भएको समाचार पनि आए। नेयमारसँगको सम्बन्ध राम्रो नरहेका कारण उनी क्लब छाड्ने मनस्थितमा रहेको पनि बताइयो। तर, ती सबै हल्लाहरुलाई एम्बाप्पेले खारेज गरिदिए। नेयमारसँग उनको सम्बन्ध धेरै राम्रो देखियो। एम्बाप्पे र नेयमार मैदान भित्र मात्र नभई मैदान बाहिर पनि राम्रो मित्रको रुपमा रहे।
यसलाई एम्बाप्पेले नेयमारलाई सहज रुपमा लिएको अथवा नेयमारको उपस्थितलाई स्विकार गरेको अर्थ लगाउन सकिन्छ। तर एम्बाप्पेले लियोनेल मेस्सीको आगमनलाई भने स्विकार गर्न नसकेको जस्तै देखिन्छ। मेस्सीको आगमनले एम्बाप्पेलाई सशंकित बनाएको चर्चा पनि फुवलवृत्तमा छ। मेस्सी र नेयमारको छायाँमा पर्दा आफ्नो भूमिका कम्जोर हुने हो कि भन्ने डरले एम्बाप्पेलाई तर्साइरहेको विश्लेषकहरु बताउँछन्।
मेस्सी पिएसजी आउनु भन्दा अगाडी एम्बाप्पेले सम्झौता थप नगरेपनि यस सिजन पिएसजीमै रहने बताएका थिए। उनले पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोलाई सम्झौता थप नगर्ने भएपनि यस सिजन पिएसजीमै रहने वचन दिएका थिए। तर, मेस्सी आएलगतै उनको बोलि फेरियो। एम्बाप्पेले आफूलाई बिक्री गर्न क्लबलाई लगातार दबाव दिए। क्लबले गरेका विभिन्न प्रयासलाई उनले ठाडै अस्विकार गरे।
एम्बाप्पेले पटक-पटक बिक्री गर्न दबाव दिएपछि पिएसजी उनलाई क्लबमा अड्याउन नसकिने कुरामा स्पष्ट भएको छ। उसले एम्बाप्पेलाई बिक्री गर्ने तयारी गरिसकेको छ। पहिलो प्रस्ताव अस्विकार गरिएपछि रियल म्याड्रिडले नयाँ प्रस्ताव पिएसजी सामू प्रस्तुत गरेको छ। रियल म्याड्रिडको नयाँ प्रस्तावलाई पिएसजीले स्विकारेको खण्डमा एम्बाप्पे केहि दिनमै रियल म्याड्रिडमा ल्याण्ड हुनेछन्।