काठमाडौँ । हिन्दु शास्त्रमा देवराज इन्द्रदेवका अप्सराहरुलाई विशेष रुपमा उल्लेख गरिएको पाइन्छ । इन्द्रको सभामा हुने कयौँ अप्सराहरु हुने गर्थे । जब कोही ऋषि या दानव ध्यान मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको कुरा शास्त्रमा उल्लेख गरिएको छ । हेरौँ को को थिए त स्वर्गकी अप्सराहरु
रम्भा : इन्द्रलोककी अप्सराले सुन्दरताको कारण स्वर्ग, मत्र्य, पाताल गरी तिनै लोकमा प्रसिद्ध थिइन् । धनको देवता कुबेरको छोरा नलकुबेरसँग रम्भा पत्नीकै रुपमा बस्ने गर्थिइन् । रम्भासँग मोहित भएका रावणले उनीसँग सम्बन्ध गाँस्न चाहेका थिए ।
उर्वशी : महाभारतमा उर्वशीको सुन्दरतालाई निकै बयान गरिएको छ । स्वर्गलोकमा घुम्न गएको बेला अर्जुन उर्वशीलाई देखेर मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मन पराएर प्रेम प्रस्ताव राखेकी थिइन् तर अर्जुनले प्रेम प्रस्ताव अस्किार गरेका थिए । अर्जुनले प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै रिसले आक्रोसित भएकी उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस भनेर श्राप दिएकी थिइन् ।
मेनका : कठिन तपस्या गर्न बसेका ऋषि विश्वमित्रको ध्यान भंग गर्न इन्द्रले मेनकालाई पृथ्वीमा पठाएका थिए । मेनकाको रुप देखेर मोहित भएका ऋषि विश्वमित्र र मेनका विवाह बन्धनमा बाँधिएर शकुन्तला नामकी पुत्रीलाई जन्म दिएका थिए ।
तिलोत्तमा : स्वर्गकी अप्सरा भन्ने बित्तिकै पहिलो नम्बरमा आउने तिलोत्तमा पृथ्वीको निर्माण गर्दा ब्रम्हदेवले संसारको सबैभन्दा सुन्दरतम वस्तुहरु संकलन गरेर उनको निर्माण गरेको कथनमा उल्लेख छ ।
पुंजिकस्थला : पुंजिकस्थलाले ध्यानमा बसिरहेका ऋषिको रुप देखेर खिल्ली उडाएकी थिइन् । उनको व्यवहारको कारण ऋषि रिसाएर उनलाई बाँदरको अनुहार हुने श्रापा दिएका थिए । त्यसपछि पुंजिकस्थालाले अन्जनीको रुपमा बाँदर जातिको जन्म लिएर हनुमान पुत्रलाई जन्म दिएकी थिइन् ।