युभेन्टस स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो स्वयम् ले बिहिबार आफूले क्लब छाड्ने निश्चित निर्णय गरेको बताएको ओल्ड लेडी प्रशिक्षक म्यासिमिलियानो एलेग्रीले पुष्टि गरेका छन्। रोनाल्डोले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग व्यक्तिगत रूपमा सम्झौता समेत गरेको थुप्रै रिपोर्टहरुले जनाएका छन्।
सन् २०१८ मा रियल म्याड्रिडमा ९ वर्षीय उत्कृष्ट करियरको समाप्ति गर्दै पोर्चुगिज कप्तान इटालियन महारथी युभेन्टस प्रस्थान गरेका थिए। युभेमा उनको कयियर त्यति सफल रहेन। व्यक्तिगत रूपमा सफलता हात पारे रोनाल्डोले युभेन्टसमा रहेर खास उपाधि भने जित्न सकेनन्। रोनाल्डो अनुबन्ध हुनु अघि नै युभेन्टसले लगातार रूपमा सरी-ए उपाधि जित्दै आएको थियो। तर गत सिजन भने रोनाल्डोको उपस्थितिका बाबजुद पनि क्लब सरी-ए को चौंथो स्थानमा मात्र रह्यो।
क्लबले रोनाल्डोलाई भित्र्याउनुको प्रमुख कारण भनेको च्याम्पियन्स लिग जित्नु थियो। तर रोनाल्डोको आगमनपछि क्लबले एक पटक पनि प्रतियोगिताको सेमी-फाइनलसम्मको यात्रा पनि तय गर्न सफल भएन। जसको कारण रोनाल्डोको युभे करियर त्यति सफल भने भएन। युभेन्टससँग च्याम्पियन्स लिगमा दाबेदारी प्रस्तुत गर्ने खेलाडी नभएकै कारण रोनाल्डोले क्लब छाड्ने फैसला गरेको धेरैको बुझाइ रहेको छ।
यस्तोमा सिटीसँग आवद्द हुन निकै नजिक रहेका रोनाल्डोले बिहिबार नै एलेग्रीलाई आफू क्लबमा नबस्ने निर्णय गरेको बताएका रहेछन्। “रोनाल्डोले हिजै मसँग आफूले तुरुन्तै क्लब छाड्न चाहेको बताएका थिए। यो सत्य हो र म यसको पुष्टि गर्छु। त्यहि कारणले नै उनी आज प्रशिक्षणमा उपस्थित थिएनन् र एम्पोली विरुद्धको खेलका लागि उपलब्ध पनि हुने छैनन्,” एलेग्रीले भने।