इन्ज्युरी समयमा हालान्डको गोल, बराबरी भएको खेल डर्टमुन्डको पोल्टामा !

एजेन्सी – इन्ज्युरी समयमा नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोल मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा होफेनहाइनमाथि रोमाञ्चक जित हात पारेको छ ।

सबै पाँच गोल दोस्रो हाफमा सम्भव हुदा डर्टमुन्डले होफेनहाइनमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो । सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलमा डर्टमुन्डका जियोभानी रेना, जुडे बेलिङघम र हालान्डले गोल गर्दा होफेनहाइनका क्रिस्टोफ बोउमगार्टनर र मुनास डाबुरले गोल फर्काए ।

खेलको ४९औं मिनेटमा जियोभानी रेनाको गोलबाट डर्टमुन्डले अग्रता लिएको थियो । उनले जुडे बेलिङघमको पासमा गोल गरेका थिए । ६१औं मिनेटमा क्रिस्टोफ बोउमगार्टनरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले डेनिस गेइगरको पासमा गोल गरेका थिए ।

६९औं मिनेटमा अघिल्लो गोलमा असिस्ट दिएका जुडे बेलिङघमले गोल गर्दै डर्टमुन्डलाई पुनः २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दुई गोल सम्भव हुदा हालान्डले निर्णयक गोल गर्दै डर्टमुन्डलाई ३–२ को रोमाञ्चक जित दिलाए । त्यसअघि इन्ज्युरी समयमै मुनास डाबुरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

नयाँ सिजनको डर्टमुन्डको यो दोस्रो जित हो । डर्टमुन्डले फ्रान्कफुर्टलाई पराजित गर्दा फ्रेइवर्गसँग हार बेहोरेको थियो । जितपछि डर्टमुन्ड ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । नयाँ सिजनमा पहिलो हार बेहोरेको होफेनहाइन ३ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रकाशित : शनिबार, भदौ १२, २०७८०८:१३

युभेन्टसमा रोनाल्डोको ठाउँ हाजार्डले लिने !