एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पूर्व क्लब म्यानचेस्टर युनाइटेड फिता हुने भएका छन्। केहि समय देखि युभेन्टस छाड्न चाहिरहेका रोनाल्डो बल्ल अहिले आएर युनाइटेड फिर्ता हुने भएका हुन्।
रोनाल्डोलाई लिएर युभेन्टस र युनाइटेड बीच सहमति भैसकेको छ। युभेन्टस छाड्ने पक्का भएसँगै रोनाल्डोले युभेन्टसका सहकर्मीहरुसंग बिदा पनि लिसकेका छन्।
यसै बीच रोनाल्डोले सामाजिक संजाल मार्फत आफूले अन्तिम दिन सम्म पनि युभेन्टसलाई मन मुटु दिएको बताएका छन। युभेन्टस इटाली मात्र नभई युरोपकै उत्कृष्ट क्लब रहेको र त्यहाँबाट आफू बिदा हुन लागेको इन्स्टाग्राम पोस्टमा उल्लेख गरेका छन्।
“आज म इटलीको सबैभन्दा ठूलो र युरोपका ठूला क्लबमध्येको एक अद्भुत क्लबबाट बिदा हुँदैछु।”,रोनाल्डोले बिदाई पोस्ट मार्फत भनेका छन्। ट्यूरिन शहरले आफूलाई धेरै सम्मान दिएको भन्दै रोनाल्डोले ट्यूरिन सधैं आफ्नो मनमा हुने पनि रोनाल्डोले बताएका छन्।
रोनाल्डोले लेखेका छन्,”मैले अन्तिम दिनसम्म मेरो मन–मुटु युभेन्टस्लाई दिएको थिएँ। मेरो अन्तिम दिन सम्म ट्यूरिन शहर लाई माया गर्नेछु। मलाई क्लब प्रशंसकहरुको सधैं साथ मिल्यो। मैले प्रत्येक खेल, हरेक सिजन, हरेक प्रतियोगितामा लडेर त्यो सम्मानलाई धन्यवाद दिने प्रयास गरें”
चाहेको सबै हाँसिल गर्न नसकेपनि सबै मिलेर युभेन्टसमा ठूला सफलताहरु हाँसिल गरेको रोनाल्डोको भनाई छ। युभेन्टसका हुँदा एक राम्रो कथा कोर्न सफल भइएको पनि रोनाल्डोले बताएका छन्।
“अन्त्यमा, हामी सबै पछाडि फर्केर हेर्न सक्छौं र महसुस गर्न सक्छौं कि हामीले चाहेका सबै सफलता हाँसिल गर्न नसकेपनि महान सफलताहरु हाँसिल गर्यौं। “,रोनाल्डोले बिदाई पोस्टमा भनेका छन्।