काठमाडौँ – नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शनिबार दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको घोषणा गरे। पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको नेता नेपालको भनाई थियो।
“आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनिहाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाइँ होइन यो । विचारको लडाइँ हो यो । सिद्धान्तको लडाइँ हो यो । मूल्य र मान्यताको लडाइँ हो यो ।”,उनले भनेका थिए।
माधव नेपालको उक्त भनाई पछि माधव नेपालले नयाँ पार्टी गठन गर्दा एमालेमै छुटेका एमाले नेता योगेश भट्टराईले फर्काएका छन्। भट्टराईले एक ट्वीट गर्दै नेता नेपाललाई जावाफ फर्काएका हुन्।
भट्टराईले माधव नेपालको उक्त भनाईलाई स्वागत गर्दै आफैँसँग भएका नेतालाई अध्यक्ष बनाउन चुनौती दिएका छन्। आफैँसँग भएका नेतालाई अध्यक्ष बनाएर उदाहरण देखाए झनै राम्रो हुने भट्टराईको भनाई छ।
“राम्रो कुरा हो, स्वागत गर्दछु। आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो।”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।
राम्रो कुरा हो, स्वागत गर्दछु ।
आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो ।— Yogesh Bhattarai (@yogesbhattarai) August 28, 2021