काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले जिम्मेवारीबोध महत्वपूर्ण कुरा हुने बताएका छन्। नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी गठन गरेका माधव कुमार नेपाल प्रति लक्षित गर्दै रावलले जिम्मेवारीबोध महत्वपूर्ण हुने बताएका हुन्।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई नयाँ पार्टी खोल्न दोस्रो तहका नेताहरुले दबाब दिएको तर अन्तिममा साथ छाडेको भन्ने अभिव्यक्ति दिएका थिए। सो क्रममा उनले एमालेमा रहँदा आफ्ना पक्षमा रहेका दोस्रो तहका नेताहरूले आफूलाई अगाडि ठेलेर आफूहरूचाहिँ भागेको भन्ने आरोप लगाएका थिए।
नेपालको उक्त भनाई प्रति लक्षित गर्दै रावलले कसैले अगाडि धकेल्दा धकेलिने नेताले पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्कनुपर्ने बताएका छन्। आइतबार एक ट्वीट गर्दै रावलले भनेका छन्,”कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनुपर्ने।”
द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुने भएपनि सहमति भएपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता नहुने रावलको भनाई छ।
“द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।”,ट्वीट गर्दै रावलले भनेका छन्।