एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आइतबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डेब्यु गरे । मेस्सी व्यावसायिक करिअरमा पहिलो पटक बार्सिलोनाबाहेक अन्य क्लबको जर्सीमा उत्रिएका थिए ।
प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सीलाई बेन्चबाट मैदान प्रवेश गराएका थिए । ब्राजिलियन फरवार्ड नेयमारको स्थानमा मेस्सीले ६६ औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । मेस्सीले मैदान प्रवेश गर्दा विपक्षी टोलीका समर्थकले समेत मेस्सी-मेस्सी भन्दै नारा लगाएका थिए। उनी मैदान छिर्दा एमबाप्पेको दुई गोलको मद्दतमा पिएसजी २-० ले अघि बढिसकेको थियो । पिएसजीले मेस्सीको आगमनपछि गोल थप्न त सकेन तर समर्थकहरुलाई उत्साहित हुने अवसर भने मेस्सीले दिएका छन् ।
मेस्सी र एमबाप्पेले आक्रमणमा सँगै खेल्दै केहि सुन्दर मुभ सिर्जना गरे । दुई फरवार्डबीच निकै राम्रो तालमेल पनि देखियो । एमबाप्पे र मेस्सीले वन टु पास खेल्दै केहि मुभ पनि सिर्जना गरे । तर एमबाप्पेको पिएसजीमा भविष्य प्रष्ट नभएको अवस्थामा यो साझेदारी कहाँ पुग्छ भन्ने अवस्था छैन ।
https://www.youtube.com/watch?v=5Z5AUS1sL4Q
यसबाहेक मेस्सीले आफ्नो खेल्ने शैलीलाई निरन्तरता दिँदै केहि फाउल पनि जिते । उनको बल नियन्त्रण र खेलाडी कटाउने क्षमता पहिलो खेलमा नै दर्शकले हेर्न पाए । पेनाल्टी क्षेत्रभित्र पनि बल पाएका मेस्सीले गोलमा प्रहार भने गरेनन् । उनले टोली २-० ले अघि रहेका कारण पनि संयमित रुपमा बल आफ्नै पकडमा राख्ने रणनीतिमा बढी ध्यान दिएका थिए ।
पहिलो खेलमा निकै कम समय पाएका मेस्सीले एमबाप्पेसँग आक्रमणमा साझेदारी गरे । आउने दिनमा एमबाप्पे पिएसजीमा रहने वा नरहने भन्ने प्रष्ट छैन । तर मेस्सीको आगमनले नेयमारलाई फाइदा पुग्ने पक्का छ । यसअघि बार्सिलोनामा पनि यी दुइको साझेदारी निकै जमेको थियो । एमबाप्पे पनि पीएसजीमा नै रहेको अवस्थामा भने क्लबको आक्रमण युरोपकै सर्वोत्कृष्ट हुनेमा दुइमत रहन्न ।