एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे भित्र्याउने योजनामा रहेको स्पेनिस क्लब रियल म्याड्रिड धेरै तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। एम्बाप्पे भित्र्याउन हदै सम्मको प्रयास गरेपनि पेरिस सेन्ट जर्मेन(पिएसजी)ले प्रतिक्रिया नदिँदा रियल तनावमा परेको हो।
रियलले एम्बाप्पेलाई भित्र्याउन गत हप्ता १ सय ६० मिलियन युरोको प्रस्ताव गरेको थियो। जसलाई पिएसजीले ठाडै अस्विकार गरेको थियो। त्यसलगतै ट्रान्सफर रकम थप गरी रियलले पठाएको प्रस्तावमा पिएसजीले कुनै पनि प्रतिक्रिया जनाएको छैन।
पिएसजीले किनेको १ सय ८० मिलियन युरो भन्दा कम रकममा एम्बाप्पेलाई बिक्री नगर्ने स्पष्ट पारेपछि रियलले सोहि रकम आसपासको प्रस्ताव पिएसजीलाई पठाएपछि पिएसजीले कुनै निर्णय गरेको छैन।
रियलले लागि दोस्रो प्रस्ताव गरेपनि आइतबार एम्बाप्पे राइम्सविरुद्ध मैदानमा उत्रिए। राइम्समाथि पीएसजीको २-० को जितमा दुवै गोल एमबाप्पेले गरे। एम्बाप्पेले पहिलो गोल १६ औं मिनेट र दोस्रो गोल ६३ औं मिनेटमा गरेका थिए।
एम्बाप्पे राइम्सविरुद्ध मैदानमा उत्रँदा त्यसले रियल म्याड्रिडलाई छटपटी गराएको रिपोर्टहरु आएका छन्। स्पेनिस पत्रिका मार्काका अनुसार एम्बाप्पे राइम्सविरुद्ध मैदानमा उत्रिएसँगै रियलका अधिकारीहरु एम्बाप्पे यस पटक पनि फुत्किएको निष्कर्षमा पुगेका छन्। एम्बाप्पे रियलमा अनुबन्धित हुने देखि सम्भावना रहेपनि रियलका केहि अधिकारीहरु यस्तो निष्कर्षमा पुगेका हुन्।
एम्बाप्पेको विषयमा सहि तरिकाले प्रक्रिया जनाएको र सहि प्रस्ताव नै पिएसजीलाई गरेको रियलको विश्वास छ। रियलले एमबाप्पेका लागि गरेको १ सय ७० मिलियन र बोनसमा १० मिलियन युरोको प्रस्ताव अन्तिम रहेको छ। त्यसमा कुनै पनि परिवर्तन गर्ने रियलको चाहना छैन। तर, पिएसजीको तर्फबाट कुनै प्रतिक्रिया नआउँदा रियल अलमलमा परेको बताइन्छ।