१७ खेलाडी प्रयोग गर्दा समेत एम्बाप्पे भित्र्याउन सकेन रियल म्याड्रिडले !

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेलाई अनुबन्ध गर्न लामो समयदेखि प्रयास गर्दै आएको छ । तर पेरिस सेन्ट जर्मेन (पिएसजी) एमबाप्पेलाई नबेच्ने निर्णयमा अडिग रहँदा रियल पटक पटक निराश हुनुपरेको छ ।

ट्रान्सफर विन्डो बन्द हुन अब केहि घण्टा मात्र बाँकी रहेको अवस्थामा रियल म्याड्रिडले मिसन एम्बाप्पेमा यो सिजनको लागि हार मानेको छ । पीएसजीले १ सय ७० मिलियन युरो ट्रान्सफर र १० मिलियन बोनससहितको प्रस्ताव नकारेको र २०० मिलियनको अफर गर्दा पीएसजीबाट कुनै प्रकारको प्रतिक्रिया नआएसँगै रियलले हार मानेको हो। रियलका अध्यक्ष पेरेजले अब बोनसलाई ३० मिलियन पुर्याएर कुल २ सय मिलियनको प्याकेज प्रस्ताव गरेका थिए।

रियलले एमबाप्पे भित्र्याउन लामो समयदेखि आफ्नो आर्थिक अवस्था सुदृढ पादै आएको थियो । यसक्रममा क्लबले १७ खेलाडी प्रयोग गरेको छ । कसैलाई अन्यत्र बेच्नेदेखि रिलिज गर्नेसम्म भएको छ । कतिपय खेलाडीको सम्झौता नविकरण गरेर तलब घटबढ पनि गरिएको छ । रियलले टोलीलाई अहिले आवश्यक नपरेका तर भविष्य बोकेका खेलाडी लोनमा पनि पठाएको छ ।

रियलले आफ्नो डिफेन्स मजबुत पार्ने क्रममा यसै सिजन बायर्न म्युनिखबाट डेविड अलाबालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्यो । यो स्तरका खेलाडी ट्रान्सफर रकमबिना अनुबन्ध गर्नाले रियलले राम्रो बचत गरेको छ । सँगसँगै मोटो तलब बुझ्दै आएका निवर्तमान कप्तान सर्जियो रामोस पनि फ्रि ट्रान्सफरमा पिएसजी पुगे ।

रियलले हाल क्लबमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका ८ खेलाडीसँग नयाँ सम्झौता गरेको छ । यसको मतलब अबको केहि वर्ष क्लबले आर्थिक रुपमा धेरै टाउको दुखाउनु पर्ने छैन । त्यसैले पनि रियल एमबाप्पे अनुबन्धका लागि खुलेर खर्च गर्न सक्ने अवस्थामा रहेको थियो ।

रियलले लुका मोड्रीच (२०२२), लुकास भाज्केज (२०२४), नाचो फर्नान्डेज (२०२३), ड्यानी कार्भाजल (२०२५), थिबाउट कोर्टुवा (२०२६), करीम बेन्जेमा (२०२३), फेडे भालभर्डे (२०२७) र क्यासेमिरो (२०२५) सँग नयाँ सम्झौता गरेको हो । यसले रियलसँग योजना अघि बढाउन भरपुर समय दिएको छ ।

यसबाहेक रियलले दुई खेलाडीलाई अन्यत्र बेचेको पनि छ । डिफेन्डर राफाएल भारान र मिडफिल्डर मार्टिन ओडेगार्ड प्रिमियर लिगमा अनुबन्ध हुँदा क्लबले राम्रो ट्रान्सफर रकम आर्जन गरेको छ । रियलले अझै केहि खेलाडीलाई बेच्ने सम्भावना पनि छ ।

प्रकाशित : मङ्गलबार, भदौ १५, २०७८१०:५८

बार्सिलोनाले नकारेपछि रोनाल्डो युनाइटेड गएको सनसनीपूर्ण खुलासा !