स्पेनिस क्लब बार्सिलोनाले डच स्ट्राइकर लुक डी योंगलाई ट्रान्सफर विन्डोको अन्तिम दिन लोनमा क्लब भित्र्याएको छ। आउँदो जुनमा स्थायी रूपमा क्लबसँग अनुबन्ध गर्न सकिने विकल्पका साथ क्लबले डी योंगलाई क्लबमा आवद्ध गरेको हो।
२ वर्ष सेभिल्लामा बिताएपछि ३१ वर्षीय स्ट्राइकर क्याटालान क्लब प्रस्थान गरेका हुन्। मंगलबार नै स्टार खेलाडी एन्टोइन ग्रिजमन लोनमा पूर्व क्लब एथलेटिको म्याड्रिड प्रस्थान गरेपछि बार्सिलोनाले आफ्नो आक्रमण पङ्क्ति सुधार गर्नको लागि सेभिल्ला स्टारलाई भित्र्याएको हो। दुई स्टार खेलाडी लियोनल मेस्सी र एन्टोइन ग्रिजमन गुमाएको र सर्जियो अगुएरो, उसमाने डेम्बेले र अन्सु फाती पनि चोटका कारण मैदान बाहिर रहेको अवस्थामा क्लबलाई एक स्ट्राइकरको आवश्यक रहेको थियो।
डच स्टार २०१९ मा पीएसभीबाट सेभिल्ला आएका थिए। स्पेनिस क्लबमा आफ्नो उत्कृष्ट खेल देखाउन नसकेका डी योंगले बार्सिलोनामा कस्तो प्रदर्शन गर्लान् भन्ने सबैको चासोको विषय बनेको छ। डी योंगले क्लबमा अन्तराष्ट्रिय टिममेट मेम्फिस डीपाए तथा मार्टिन ब्राथवेटका साथ क्लबको आक्रमण पङ्क्ति सम्हाल्नेछन्।
अन्ततः एट्लेटिको म्याड्रिड फर्किए ग्रिजमन !
दुई वर्ष क्याटलान क्लब बार्सिलोना बसाईपछि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन् ।
ग्रिजमन लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन् । ग्रिजमन सन् २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । तर, दुई वर्षपछि नै ग्रिजमन एट्लेटिको फर्किएका हुन् ।
३० वर्षीय ग्रिजमनलाई बार्सिलोनाका समर्थक र प्रशिक्षक रोनाल्ड कोम्यानले पनि खासै रुचाएको पाइदैन । प्रशिक्षक कोम्यानले ग्रिजमनको बचाउ गर्दै उनीजस्तो खेलाडीको कहिल्यै आलोचना हुन नसक्ने बताएका छन् । एट्लेटिकोले यो महिनाको सुरुवातमा ग्रिजमनलाई फर्काउने योजना रहेको बताएको थियो ।
ग्रिजमनले एट्लेटिकोसँग एक सिजनका लागि लोनमा हस्ताक्षर गरेका छन् । बार्सिलोनाले ग्रिजमनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्नको लागि पनि विकल्प छोडेको छ । बार्सिलोनाले क्लबमा रहेको आर्थिक मन्दीका कारण पनि खेलाडी कटौती गरेको हो ।