एक रिपोर्टका अनुसार पीएसजी स्टार किलियन एम्बाप्पेले क्लबले प्रस्ताव गरेको कीर्तिमानी रकमको सम्झौता अस्विकार गरेका छन्। फ्रेन्च क्लबले आफ्ना युवा स्टारलाई सुपरस्टार खेलाडी लियोनल मेस्सी र नेइमारको भन्दा पनि बढी पारिश्रमिकका साथ नयाँ सम्झौता प्रस्ताव गरेको थियो।
एम्बाप्पेले पीएसजीबाट प्रस्तावित सम्झौता अस्विकार गरेका छन् जसले उनलाई विश्व फुटबल कै सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडी बनाउने थियो। २२ वर्षीय स्ट्राइकर यहि सिजन नै फ्रान्स छाडेर रियल म्याड्रिड प्रस्थान गर्न चाहन्थे तर पीएसजी र रियल बीच यसबारे कुनै सम्झौता हुनै सकेन। क्लबमा फ्रेन्च स्टारको जारी सम्झौता यहि सिजनको अन्त्यबाट सकिँदैछ।
समर ट्रान्सफर विन्डोको अन्तिम दिन रियल म्याड्रिडले एम्बाप्पेका लागि २२० मिलियनको प्रस्ताव पीएसजीलाई पठाएको थियो तर फ्रेन्च क्लबले उक्त प्रस्ताव बारे कुनै प्रतिक्रिया पनि दिएन। स्पेनिस महारथीले यसअघि गरेको दुई पटकको प्रस्तावलाई पनि पीएसजीले इन्कार गरेको थियो। यस्तोमा ले पेरिजियनको रिपोर्ट अनुसार क्लबले एम्बाप्पेलाई विश्व फुटबल कै सबैभन्दा महँगो २ वर्षीय नयाँ सम्झौता प्रस्ताव गरेको हो।
🚨🚨 BREAKING: Kylian Mbappé has rejected a new €45M-a-year contract renewal offer from PSG. (Source: @le_Parisien) pic.twitter.com/ASqKLxuJkh
— Transfer News Live (@DeadlineDayLive) August 31, 2021
पीएसजीले एम्बाप्पेलाई ४५ मिलियन प्रति वर्षको पारिश्रमीकका साथ नयाँ सम्झौता अफर गरेको थियो जसले मेस्सी र नेइमार जस्ता खेलाडीको पारिश्रमिकलाई पनि ओझेल पार्ने थियो। तर विश्व विजेता स्ट्राइकरले पेरिस क्लबको उक्त सम्झौता अस्विकार गरेको बताइएको छ। २२ वर्षीय युवा स्टार आफ्नो भविष्य पीएसजीमा कतै पनि देख्दैनन्। उनले यसअघि पनि आफूले पीएसजी छाड्न चाहेको स्पष्ट संकेत दिएका थिए।
सिजनको अन्त्यमा सम्झौता सकिने एम्बाप्पेले जनावरी १ बाट उता कुनै पनि क्लबसँग नयाँ सिजनबाट फ्री-ट्रान्सफरमा अनुबन्ध हुने गरी सम्झौता गर्न सक्नेछन्। उनको अर्को गन्तव्य स्पेनिस क्लब रियल म्याड्रिड हुने धेरैले विश्वास गरेका छन्।