जीखोला बाढीको एक वर्ष : अझै अत्तोपत्तो छैन १५ जनाको

केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसै गरी सुसाउँथ्यो र अहिले पनि उसै गरिरहेको छ ।

बाउ बाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेसी झरेका बेला बोबाङ बासीका आश्रयस्थल थिए । ढोरपाटन र बुकीमा बसेर गाईबाख्रा पाल्ने अधिकांश बोबाङवासीको छ महिनाको बसाई भुजीखोला छेउछाउमा भए पनि उनीहरुको स्थायी बसोबास त्यहीँ हो । विसं २०७७ भदौ १७ गतेअर्थात् आजकै दिन भुजीखोला किनारका स्थानीयका लागि कालो दिन बन्यो । रातको १२ बजेको हुँदो हो भुजी खोलामा अनायसै आएको बाढीले नत पानी भन्न दियो, नत गुहार नै माग्न ।

बाढीपहिराले ढोरपाटन नगरपालिका वडा नं ९ देखि ६ सम्मको खोला किनार बडार्यो । कसैलाई लछारेर किनारा लगायो, कसैको प्राण लियो र धेरै जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्कअनुसार भुजीखोलाको बाढीपहिराका कारण ढोरपाटनका मात्रै ३७ जनाले ज्यान गुमाएका थिए ।

पन्ध्र जना अझै बेपत्ता छन् । ढोरपाटन–९ को सुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि नरसम्हार मच्याउने गरी बाढी आएको नगर प्रमुख देवकुमार नेपाली बताउनुहुन्छ । “त्यो दिन वर्षा पनि अधिक भएको थियो, कुनै मानव सिर्जत कारण नभएर सुर्तिवाङको वनमा गएको पहिरो बाढीका कारण हो”, नेपालीले भने, “हाम्रो नगरमा सबैभन्दा बढी क्षति हुने र दुःखद् घटना भयो ।”

खोइ उनी कहाँ छन् ?

भदौ १७ गते रातको १२ बजेदेखि सम्पर्कविहीन भएका ४० जनामध्ये तीन जना घाइते अवस्थामा भेटिए । त्यसयता निरन्तर एक महिनाको खोजीमा २२ जनाको शव भुजीखोला र बडिगाड खोलाको किनारमा भेटिए । एकै पटक सम्पर्कविहीन भएका १५ जनाको अझै पत्तो छैन । “खोजीकार्य जारी नै छ तर कोही भेटिँदैनन्”, जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगर भन्छन्, “जीवित भए खबर आउँथ्यो होला, बाढीपहिरामा परेका भए सडेगलेर सकिने बेला भो, खोजेर पनि भेटिने केही छैन ।”

वडा नं ९ का टेकमाया विक, तिर्सना विक, मनिषा विक, रोशन विक, रवि विक, सुरेन्द्र विक, जितबहादुर घर्ती, प्रकृति पुन, मनकुमारी विक, उमिसा विक, हस्तमाया विक, तुलमती विक, कौशिला पुन, विशाल पुन र मोहन विक अझै बेपत्ता छन् ।

बेपत्ता हुने अधिकांश बालबालिका

बाढीपहिरामा परी बेपत्ता भएका १५ जनामध्ये आठ जना बालबालिका रहेको तथ्याङ्क प्रहरीसँग छ । तिर्सना, मनिसा, रोशन, रवि, समुन्द्र, प्रकृति, उमिषा र मोहन बालबालिका हुन् । बेपत्ता बालबालिकामध्ये उमिषा सबैभन्दा कम उमेर १० महिनाकी बालिका हुन् भने समुद्र १६ वर्षीय बालक हुन् । दुई पुरुष र अरु पाँच महिला रहेका छन् । मृतक २२ मध्ये पाँच बालबालिका रहेको तथ्याङ्क प्रहरीसँग छ । मृतकमध्ये सबैभन्दा धेरै महिला थिए । दश महिला र सात पुरुषले बाढीपहिरामा परेर ज्यान गुमाएका थिए ।

प्रकाशित : बिहिबार, भदौ १७, २०७८१०:४४

विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन हुन थाले विद्यालय !