“रोनाल्डो अनुबन्ध गरेर युनाइटेडले ठूलो गल्ती गर्यो, उनले केहि गर्न सक्दैनन्”

म्यानचेस्टर युनाइटडमा क्रिस्टियानो रोनाल्डोको आगमनले पूरा विश्व जगत नै उत्साहित भएको तर एक फुटबल पण्डितका अनुसार भने म्यानचेस्टर क्लबले रोनाल्डो भन्दा राम्रो विकल्प पाउन सक्थ्यो। उनका अनुसार रोनाल्डो अनुबन्ध गर्नु रेड डेभिलको गलत चाल हो।

रियल म्याड्रिडबाट राफाएल भारान र डर्टमण्डबाट जेडन सान्चोपछि युभेन्टसबाट रोनाल्डोलाई अनुबन्ध गरेको क्लबका लागि समर ट्रान्सफर विन्डो निकै सफल रह्यो। सन् २००९ मा क्लब छाडेका रोनाल्डो १२ वर्षपछि क्लब फर्किंदा सबैको उत्साहको सीमा नै छैन। तर स्काई स्पोर्ट्सका पण्डित पल मर्सन भने रोनाल्डो ट्रान्सफरसँग सन्तुष्ट रहेका छैनन्।

रोनाल्डो भन्दा ह्यारी केन क्लबका लागि उत्तम विकल्प भएको पनि उनले बताए। पूर्व आर्सनल स्टारका अनुसार रोनाल्डोले युनाइटेडमा आआफ्नो दोस्रो कार्यकाल सफल पार्नु छ भने उनले क्लबलाई २०१३ पछि पहिलो पटक प्रिमियर लिग उपाधि जिताउनु पर्नेछ। स्काई स्पोर्ट्स न्युजमा मर्सनले भने,”क्लबले लिग जित्नु पर्छ। यदि कसैले क्लबमा पछिल्लो १५ वर्षको सर्वोत्कृष्ट खेलाडी,रोनाल्डो, लाई अनुबन्ध गरेको छ भने उक्त क्लबले प्रिमियर लिग जित्नु पर्छ।”

रोनाल्डोले लिग जिताउन नसकेको खण्डमा उनीलाई जर्सी बिकाउन र व्यापारिक हिसाबले अनुबन्ध गरेको बहाना नचल्ने पनि मर्सनले स्पष्ट पारेका छन्। त्यस्तै, उनले रोनाल्डो भन्दा केन उत्तम विकल्प भएको पनि बताएका छन्। उनले भने,”मेरो लागि, केनले लिग जिताउन सक्छन्, रोनाल्डोले सक्दैनन्।”

रोनाल्डोको युनाइटेडमा दोस्रो कार्यकाल कस्तो रहला भन्ने त समयले देखाउँने छ।

प्रकाशित : बिहिबार, भदौ १७, २०७८१२:३६

क्विन एलिजावेथलाई अटोग्राप दिने संसारकै पहिलो व्यक्ति बन्दै रोनाल्डो, रोनाल्डोको जर्सी पनि लगाउने !