एकाएक बदलिए देउवा, सुरु भयो सत्तारुढ गठबन्धनमा लफडा !

काठमाडौं । आगामी चुनावसम्मै गठबन्धन कायम राख्ने सहमति गरेका सत्ता साझेदार दलबीच लफडा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने प्रस्ताव र चीनसँगको सीमा विवादबारे अध्ययन गर्न टोली गठन गर्ने निर्णय गरेपछि गठबन्धनमा खटपट देखिएको हो ।

देउवालाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (सपा), राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीको समर्थन छ । उनी असार २९ प्रधानमन्त्री बनेका थिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

तर, उनी प्रधानमन्त्री भएको ५२ दिनमै गठबन्धनमा असन्तुष्टि देखिन थालेको हो । अहिलेसम्म सरकारले पूर्णता समेत पाउन सकेको छैन । अहिले कांग्रेसबाट ४ र माओवादी केन्द्रबाट २ जना मात्र सरकारमा छन् । यद्यपि यी विषयले अहिले नै विवादको स्वरुप भने लिइनसकेको नेताहरुले बताएका छन् ।

गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसी अगाडि बढाउन नहुने बताउँदै आएका छन्। कांग्रेस एमसीसी पास गर्नुपर्ने पक्षमा छ भने जसपाले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

अमेरिकाको दबाबपछि प्रधानमन्त्री देउवा एमसीसी संसदबाट अनुमोदन गर्न हतारिएका छन् । भदौ १५ गते बसेको गठबन्धनको बैठकमा देउवाले खुलेर एमसीसी पास गर्नुपर्ने बताएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार एमसीसी जसरी पनि अनुमोदन गर्ने पक्षमा देउवा देखिन्थे । तर, अन्य दलले उनको प्रस्ताव अस्वीकार गरे ।

गठबन्धन बन्दा देशलाई अहित गर्ने विषयमा सम्झौता नगर्ने सहमति बनेको र सहमति तोडेर एमसीसी पास गरे त्यसले राम्रो नगर्ने माओवादी केन्द्रका एक नेताले बताए । ‘पाँच दलीय गठबन्धनको आधार भनेकै राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै लोकतन्त्रको विकास गर्नु हो,’ ती नेताले भने, ‘त्यो सहमतिविरुद्ध गयो भने गठबन्धनको औचित्य के हुन्छ ?’ उनका अनुसार पाँच दलीय गठबन्धनमा एमसीसीलाई तत्काल अघि नबढाउने समझदारी बनेको थियो । ‘त्यही भएर न्यूनतम साझा कार्यक्रममा त्यो विषय परेन,’ ती नेताले भने ।

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८०८:१७

महाकाली तुइन प्रकरण : देउवा सरकारले प्रतिवेदन कार्यान्वयन गर्न सक्ला ?