म्यानचेस्टरमा रोनाल्डोले ७ नम्बर जर्सी लगाउने पक्का !

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने पक्का भएका छन्। सन् २००९ मा रियल म्याड्रिड प्रस्थान गरेका रोनाल्डो १२ वर्षपछि ओल्ड ट्राफर्ड फर्किएका हुन्।

म्यानचेस्टरको पहिलो कार्यकाल, रियल म्याड्रिड र युभेन्टसमा प्रसिद्ध ७ नम्बर जर्सी लगाएका रोनाल्डोले रेड डेभिलसँग पुनः आवद्ध भएपछि उक्त जर्सी पाउने वा नपाउनेमा चर्चा रहेको थियो। हाल उरुग्वेयन स्ट्राइकरले लगाएको कारण पनि रोनाल्डोले उक्त जर्सी पाउनेमा शंका रहेको थियो। तर म्यानचेस्टर क्लबले आधिकारिक रूपमा नै रोनाल्डोले ७ नम्बरको जर्सी लगाउने सार्वजनिक गरेको छ।

“सबैलाई थाहा नै छ, जर्सी नम्बर ७ युनाइटेडको इतिहासमा एक विशेष रहेको छ। यो जर्सी पहिले जर्ज बेस्ट, ब्रायन रोब्सन, एरिक क्यान्टोना र डेभिड बेकह्यामजस्ता दिग्गजले लगाइसकेका छन्। अब अर्का दिग्गज रोनाल्डोले फेरी लगाउनेछन्,”म्यानचेस्टरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

काभानीले भने अब क्लबमाराष्ट्रिय टोलीका लागि लगाउने गरेका २१ नम्बर जर्सी लगाउने भएका छन्। अन्तराष्ट्रिय ब्रेकपछि म्यानचेस्टर युनाइटेडले ११ सेप्टेम्बरमा न्युक्यासलसँग खेल्दैछ। सोहि खेलबाट रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा दोस्रोपटक डेब्यु गर्ने सम्भावना रहेको छ।

बुधबार मात्र ५ पटकका ब्यालुन डी ओर विजेता अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। आयरल्याण्ड विरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले ८९ औं मिनेटमा गरेको पहिलो गोलले उनलाई इरानका दिग्गज अली दायइको १०९ गोलको रेकर्ड तोड्दै अन्तराष्ट्रिय स्तरमा सर्वाधिक गोल गर्ने खेलाडी बनाएको थियो।

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८१२:०६

एम्बाप्पेले रियल म्याड्रिड कै लागि खेल्ने बेन्जेमाको दाबी, गरे खुलेर प्रशंसा !