रियल म्याड्रिड स्ट्राइकर करिम बेन्जेमा आफ्ना अन्तराष्ट्रिय टिममेट किलियन एम्बाप्पेले एक दिन सान्टियागो बर्नबेउमा रियलको जर्सी लगाएर खेल्नेमा विश्वस्त रहेका छन्। एम्बाप्पे र रियल म्याड्रिडको नाम लामो समय देखि जोडिदै आएको छ।
हाल दुबै खेलाडी फ्रान्सका साथ अन्तराष्ट्रिय ड्युटीमा रहेका छन्। एम्बाप्पेले चोटका कारण फ्रान्सको क्याम छाड्नु परेको पनि बताइएको छ। राष्ट्रिय टोलीबाट खेल्दा निकै तालमेल देखाएका यी दुई स्टार बीच राम्रो सम्बन्ध रहेको छ। हालै मात्र बन्द भएको ट्रान्सफर विन्डोमा एम्बाप्पेलाई भित्र्याउन रियल म्याड्रिडले सक्दो प्रयास गरेको थियो। तर फ्रेन्च क्लब पीएसजी आफ्ना युवा स्टारलाई कुनै पनि मूल्यमा बेच्ने मनस्थितिमा थिएन।
पीएसजीसँग सिजनको अन्तिममा सम्झौता अन्त्य हुने विश्व विजेता एम्बाप्पे अर्को सिजन फ्री ट्रान्सफरमा रियल म्याड्रिड जाने सम्भावना उच्च रहेको छ। विश्वकप छनौट खेलमा बोस्निया हर्जगोभिनासँग १-१ को बराबरी खेलेपछि फ्रान्सेली स्टार बेन्जेमाले आरटिएलसँग कुरा गर्दै भने,”उनी कुनै न कुनै दिन रियल म्याड्रिडका लागि खेल्ने खेलाडी हुन्। उनी यसै सिजन म्याड्रिड आएको हेर्न चाहन्थे।”
रियल म्याड्रिड स्ट्राइकरले फ्रान्सेली टोलीमा लामो समयपछि फर्किएको पहिलो पत्रकार सम्मेलनमा पनि रियलमा पीएसजी स्टार एम्बाप्पेसँग खेल्ने आफ्नो इच्छा रहेको बताएका थिए। “मलाई उनको भविष्य बारे केहि जानकारी छैन तर एम्बाप्पेलाई रियल म्याड्रिड आए स्वागत छ। उनीसँग भविष्यमा रियल म्याड्रिडका खेलाडी बन्न हरेक एक गुण रहेको छ,” बेन्जेमाले भने।