मेस्सी र रोनाल्डो: एकले आफूलाई विश्वस्तरीय खेलाडी बनाएको क्लबमा फर्किएका छन् भने अर्का खेलाडीले पूरा जीवन खेलेको क्लब छाडेर अर्को क्लबमा प्रस्थान गरेका छन्। यी दुबै खेलाडी आफ्नो करियरको अन्त्यतिर जाँदै गर्दा पनि विश्वका सर्वश्रेष्ठ रहेका छन् यी दुई खेलाडी।
फुटबल इतिहासमा आफ्नो नाम सुनौलो अक्षरमा लेखिसकेका रोनाल्डो र मेस्सी हाल स्पेन बाहिर खेलिरहेका छन्। उनीहरुले फुटबल जगतमा के गरेका छन् र के-कस्ता रेकर्ड बनाएका छन् भन्ने सबैले सम्झिनेछन् तर यी दुई खेलाडीले अझै कस्ता रेकर्ड बनाउन सक्छन् त ?
रोनाल्डो र मेस्सीले के-कस्ता सफलता हात पारेका छन् त ?
क्लब स्तरमा यी दुई खेलाडीले हरेक उपाधि जितिसकेका छन्। अन्तराष्ट्रिय स्तरमा पनि दुबैले आफ्नो टोलीलाई महादेशीय सफलता दिलाएका छन्। गोलको बारेमा कुरा गर्दा हालै मात्र रोनाल्डो अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। त्यस्तै, उनलाई फुटबल इतिहास मै सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि मानिन्छ। अर्कोतर्फ, मेस्सी एकै क्लबमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् र एकै लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। च्याम्पियन्स लिगमा पनि सर्वाधिक गोल गर्ने दुई खेलाडी हुन् रोनाल्डो र मेस्सी।
रोनाल्डोले ५ पटक च्याम्पियन्स लिग जित्न सफल भएका छन् भने मेस्सीले ४ पटक उक्त प्रतियोगिता जितेका छन्। त्यस्तै, ब्यालुन डी ओर को कुरा गर्दा मेस्सी (६) रोनाल्डो (५) भन्दा अगाडी रहेका छन्।
रोनाल्डो र मेस्सीले पीएसजी र युनाइटेडमा के-कस्ता रेकर्ड बनाउन सक्लान् ?
रोनाल्डो अन्तराष्ट्रिय स्तरमा सर्वाधिक गोल गर्ने खेलाडी बनिसकेका छन् तर अर्जेन्टिनी कप्तान लियोनल मेस्सी अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने दक्षिण अमेरिकी खेलाडी बन्न २ गोलको आवश्यक रहेको छ। मेस्सीको नाममा ७६ गोल रहेको भने यो रेकर्ड पेले (७७) को नाममा रहेको छ।
रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि च्याम्पियन्स लिगमा २ खेल खेलेको खण्डमा उनी प्रतियोगिता इतिहासमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी बन्नेछन्। हाल यो रेकर्ड रोनाल्डोका पूर्व टिम मेट इकर क्यासिलासको नाममा रहेको छ। उनले च्याम्पियन्स लिग इतिहासमा सबैभन्दा बढी १७७ खेल खेलका छन्। मेस्सीले हालसम्म १४९ खेल खेलका छन्।
हालै म्यानचेस्टर प्रस्थान गरेका रोनाल्डोले क्लब इतिहासमा १२७ गोल गरेका छन्। थप दुई गोल गरेको खण्डमा उनले सबैभन्दा धेरै गोल गर्ने सूचीमा वर्तमान युनाइटेड प्रशिक्षक ओले गनर सोल्सारलाई उछिन्ने छन्। त्यस्तै, टप १० उच्च गोलकर्ता बन्नको लागि उनले १५५ गोल पार गर्नु पर्नेछ।