मेस्सी पुनः बार्सिलोनामा ?

अर्जेन्टिनी दिग्गज खेलाडी जुआन रिकेल्मेले वर्तमान अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पुन: बार्सिलोना फर्किने भविष्यवाणी गरेका छन्। पूर्व अर्जेन्टिनी खेलाडीका अनुसार मेस्सीले पीएसजीसँग च्याम्पियन्स लिग उपाधि जित्ने र अन्ततः बार्सिलोना फर्केर सन्यास लिन सक्ने बताएका छन्।

६ पटकका ब्यालुन डी ओर विजेता मेस्सी आफ्नो १७ वर्षीय बार्सिलोना करियरलाई अन्त्य गर्दै गत महिना मात्र फ्रेन्च क्लब प्रस्थान गरेका हुन्। आर्थिक संकटसँग जुधिरहेको बार्सिलोनासँग लालिगाको नियम अनुसार नयाँ सम्झौता हस्ताक्षर गर्न सम्भव नभएपछि मेस्सी बार्सिलोना छाड्न बाध्य भएका थिए।

पीएसजीमा नयाँ खेल जीवनको सुरुवात गर्दै गरेका ३४ वर्षीय स्ट्राइकरले पेरिस क्लबमा क्लब इतिहास कै पहिलो च्याम्पियन्स लिग जिताउन मद्दत गर्नेमा रिकेल्मे विश्वस्त रहेका छन्। पूर्व बार्सिलोना स्टार रिकेल्मेले इएसपीएनसँग बोल्दै भने,”म आशा गर्छु कि मेस्सी पेरिसमा रमाउन सकुन्। सायद यो अजिब लाग्न सक्छ तर हामी सबै उनलाई नेइमार र एम्बाप्पेका साथ खेलेको हेर्न आतुर छौं। पीएसजीले अहिले च्याम्पियन्स लिग जितेन भने कहिल्यै पनि जित्न सक्दैन। मलाई लाग्छ मेस्सीले पीएसजीसँग च्याम्पियन्स लिग जित्ने छन् र बार्सिलोना फर्किएर सन्यास लिनेछन्।”

मेस्सीले पेरिस सेन्ट जर्मेनसँग सन् २०२४ सम्म सम्झौता गरेका छन्। जसपछि एक वर्ष सम्झौता थप गर्ने विकल्प पनि रहेको छ। जसपछि उनी कहाँ जान्छन् भन्ने सबैको चासो बन्न थालिसकेको छ। केहि रिपोर्टका अनुसार उनी एमएलयस क्लब प्रस्थान गर्ने पनि बताइएको छ। तर उनी बरसिलोना फर्किने पनि सम्भावना रहेको छ।

प्रकाशित : शुक्रबार, भदौ १८, २०७८१७:५९

“रोनाल्डोले युभेन्टसलाई अपमान गरेर गए, किन यस्तो घमण्ड ?”