कांग्रेसभित्र स्थानिय तह देखि नै नयाँ गुट थपिँदै

काठमाडौं, भदौ १८। मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ । अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ । यो खबर समाचारपत्र दैनिकमा प्रकशित छ।

१२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो । १४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ । देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको घोषणा गर्दै आफ्नो टिम बनाउन थालेसँगै चौथो गुटका रूपमा निधि पक्ष स्थापित हुने निश्चित देखिएको छ ।

देउवा गुटमा नेताहरू विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, रमेश लेखक, गोपालमान सिंह तथा महालक्ष्मी उपाध्याय, डिनालगायतका प्रभावशाली नेताहरू छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा डा रामशरण महत, डा। शशांक कोइराला, डा। शेखर कोइराला, प्रकाशमान सिंह, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसीलगायतका प्रभावशाली नेताहरू छन् ।

सिटौला गुटमा भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं, गगन थापा, प्रदीप पौडेललगायतका प्रभावशाली नेताहरू छन् । निधि गुटमा पनि प्रभावशाली नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, प्रदीप गिरीलगायत तराई क्षेत्रका थुप्रै नेता सक्रिय छन् ।

पौडेल गुटमा रहेका नेताहरू डा। शशांक कोइराला र शेखर कोइरालासँग छुट्टै गुट बनाए नेताहरू मीनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेल, दीपक गिरीलगायतका नेताहरू थपिने संकेत आइरहेको छ । देउवा गुटबाट नेतृत्व दाबी गर्दै विमलेन्द्र निधि छुट्टिएको बाहेक अन्य नेताले नेतृत्व दाबी गरेका छैनन् भने पौडेल गुटमा नेतृत्व दाबी गर्ने संख्या धेरै छ । पौडेल आफैं नेतृत्व लिन चाहिरहेका छन् भने डा शेखर कोइराला, डा शशांक कोइरालाले पनि नेतृत्व दाबी गरिरहेका छन् ।

आफ्नो गुटबाट नेतृत्वका लागि साझा उम्मेदवार अघि नबढाएसम्म वर्तमान सभापति देउवालाई हटाउन नसकिने निष्कर्ष निकाले पनि पौडेल समूहले साझा उम्मेदवार छान्न सकेको छैन । देउवाविरुद्ध साझा उम्मेदवार तयार गर्ने उद्देश्यले केन्द्रीय सदस्य बलबहादुर केसीले केही दिनअघि पौडेल पक्षको उपगुटका नेताहरूसमेतको भेला गराई साझा उम्मेदवार छान्ने कुराको प्रक्रिया शुरू गर्नुभएको थियो । यसलाई निरन्तरता दिँदै बैठक बस्ने क्रम अझै जारी छ ।

प्रकाशित : शनिबार, भदौ १९, २०७८०८:२०

५० दिनसम्म पनि पूरा हुन नसकेको मन्त्रिपरिषद् !