छोरीलाई मृतक बाबुको अनुहारसमेत हेर्न दिइएन, जलाइसकेको बाबुको खरानीसमेत हातमा परेन !

झापा । राति ११ बजे मृत्यु भएका बाबुुको खबर उनले बिहान ७ बजे मात्रै माइतीतर्फका छिमेकीले फेसबुकमा पोस्ट गरेको देखेपछि मात्र थाहा पाइन् । आफूलाई जन्म दिनको बाबुको निधनको खबर, सामाजिक सञ्जालबाट थाहा पाउँदा कस्तो होेला ? तैपनि उनले आफूलाई सम्हालिन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

जन्म ब्राह्मणको घरमा, विवाह दलितसँग, तैपनि सीता ढुंगाना विश्वकर्माले रुँदै हतारहतार छिमेकीलाई फोेन गर्दै भनिन्, ‘मलाई जन्म दिने बाबु हो, अन्तिमपटक भए पनि अनुहार हेर्न पाऊँ, म नआएसम्म शव नजलाउनू । म घाटमै भए पनि आउँछु ।’

हारगुहार गर्दा पनि अन्तर्जातीय विवाह गरेकी सीताले आफूलाई जन्म दिने बाबुको मृतक अनुहार हेर्न पाइनन् । राजनीतिक रूपमा सचेत उनले जीवित बाबुको अनुहार हेर्न नपाएको त वर्षाैं भइसकेको थियो तैपनि चित्त बुझाएकी थिइन् । तर, पनि उनले मृतक बाबुको अनुहार हेर्न पाइनन् । उनी आफूलाई जन्म दिने बाबुको मृत अनुहार भए पनि हेर्न घाट पुग्दा दमक चिया दोकानको ढुंगाना परिवार सतगति गर्ने सबै काम सकेर घाटबाट फर्किसकेको थियो ।
छोरी सीताको आर्तनाद माइती परिवारले नसुन्नुको प्रमुख कारण हो, उनको अन्तर्जातीय विवाह । बाहुनकी छोरी सीताले कथित दलित विश्वकर्मासँग विवाह गरेकी थिइन् । त्यही कारण उनी माइतीतर्फबाट जबर्जस्ती अलग बनाइएकी थिइन् ।

त्यसो त उनी एमालेनिकट अनेमसंघ झापाकी सहसचिव हुन् । राजनीतिक रूपमा सचेत उनले तैपनि आफूलाई जन्म दिने बाबुको मृत शरीर हेर्न पाइनन् । जलाइसकेको बाबुको खरानीसमेत उनको हातमा परेन ।

‘छोरीको नाताले मैले बाबुको खरानी भए पनि पाऊँ भनेर सूचना दिएको थिएँ, तैपनि सबै पखालेर बगाइदिएछन्,’ उनले दुखेसो व्यक्त गरिन् ।

ब्राह्मण परिवारमा जन्मेकी सीता । समय र परिस्थितिले उनले दलित परिवारसँग जीवन रोजिन् । हाल एमाले झापा जिल्ला सदस्य रहेका छविलाल विकसँग २०५७ साल पुसमा उनको प्रेम विवाह भएको थियो । जब उनले दलितसँग विवाह गरिन्, समाजबाट तिरस्कृत भइन् ।

प्रकाशित : आइतबार, भदौ २०, २०७८०८:२२

सुन तस्करी: पक्राउ पर्छन् भरिया, फेला पर्दैनन् तस्कर !