काठमाडौं – नेपाल र भारतीय राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल साँझ ५:३० बजे हुनेछ ।
अर्काे महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । बिहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो ।
नेपालले भारतलाई सन् २०१३ यता हराउन सकेको छैन । अनिल गुरुङ र जुमानु राईको गोलमा नेपालले सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले पराजित गरेको थियो । त्यसयता नेपालले दक्षिण एसियाली महारथीविरुद्ध जित हात पार्न सकेको छैन ।
यसक्रममा ६ खेलमा नेपालले चार हार र २ बराबरी निकालेको छ । अहिलेसम्मका २० खेलमा नेपालले २ खेल जितेको छ । ५ खेलमा बराबरी गरेको छ । बाँकी १३ खेलमा भारतले नेपाललाई हराएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार जस्तै ५ हजार १ सय दर्शकले मात्र रंगशाला पुगेर फुटबल हेर्न सक्ने बताएको छ । कोरोनाविरुद्धको दुवै खोप लगाएका वा कोरोना टेष्ट नेगेटिभ भएकाले मात्र खेल्न हेर्न सक्नेछन् ।
मैत्रीपूर्ण खेलपछि शुक्रबार नेपाली टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि कतार जानेछ । त्यहिबाट असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपमा भाग लिन जानेछ । आयोजक समेत रहेको साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै नेपालले साफ च्याम्पियनसिपको यात्रा थाल्नेछ ।
बंगलादेशमा २०१८ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले हराएको थियो । त्यो संस्करण माल्दिभ्सले जितेको थियो । यसपटक ५ टोलीको सहभागिता रहने च्याम्पिनसिपमा राउन्ड रोविनका आधारमा हुनेछ । साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।