काठमाडौं – नेपाल र भारतीय राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल साँझ ५:३० बजे हुनेछ । बिहीवार भएको पहिलो खेल १-१ को बराबरीमा सकिएको थियो।
दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको पहिलो खेलमा रहेको सुरुवाती ११ मा केहि परिवर्तन गर्न सक्नेछन् । साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीका धेरै भन्दा धेरै खेलाडी प्रयोग गर्ने लक्ष्य रहेको प्रशिक्षक अलमुताइरीले बताएका थिए ।
गोलरक्षक तथा कप्तान किरण चेम्जोङले आइतबारको खेल खेलेमा उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनले बिहीबार खेल्दै पूर्व कप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए । यद्यपि उनले पूरा समय खेल्नेमा भने शंका छ । प्रशिक्षक अलमुताइरीले आवश्यक परेको खण्डमा अन्य गोलरक्षक पनि तयार रहनुपर्ने हुँदा केहि समय दिने बताएका थिए ।
पहिलो खेलमा अनन्त तामाङसँगै दिनेश राजवंशी, सुमन अर्याल र गौतम श्रेष्ठले रक्षापङ्ति सम्हालेका थिए । डिफेन्समा धेरै विकल्प पनि नरहेकाले यसैले निरन्तरता पाउने देखिन्छ । डिफेन्डर राजन गुरुङ डेब्युको प्रतिक्षामा रहेकाले उनलाई अन्तर्राष्ट्रिय अनुभव दिन दोस्रो हाफमा अवसर पाउने सम्भावना रहन्छ ।
मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा रहँदा विंगर फरवार्डको रुपमा आयुष घलान र अन्जन विष्ट तथा अग्रपङ्ति नवयुग श्रेष्ठले सम्हालेका थिए । आजको खेलमा मिडफिल्डमा केहि परिवर्तन हुन सक्छ । आक्रमणमा पनि मनिष डाँगी र आशिष लामा टोलीमा आउन सक्छन् ।
प्रशिक्षक अलमुताइरीले अनुभवी मिडफिल्डरद्वय विशाल राई र सन्तोष तामाङलाई बेञ्चमा राख्दा युवा विंगर आयुष घलानलाई पहिलो रोजाईमा मैदानमा उतारेका थिए । आयुषले घरेलु डेब्युमा राम्रो छाप पनि छाडेका थिए । विशाल राइले पनि बेन्चबाट आएर राम्रो प्रदर्शन गरे । पुजन र तेजले आफ्नो स्थान राख्दा सुमनको भूमिकामा भने विशाल राई, कमल थापा र सुरज जिउ ठकुरीमा एकले खेल्न सक्छन् ।
प्रशिक्षक अलमुताइरीले गोलरक्षक विशाल श्रेष्ठ वा दीप कार्कीमा एकलाई डेब्यु दिने सम्भावना छ । अघिल्लो मैत्रीपुर्ण खेलमा नितिन थापाले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । डिफेन्डर राजन गुरुङ पनि पहिलो खेलको पर्खाइमा छन् ।
नेपालको सम्भावित ११
किरण चेम्जोङ (कप्तान), सुमन अर्याल, दीनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, पुजन उपरकोटि, तेज तामाङ, विशाल राई, अन्जन विष्ट, आशिष लामा, सुनिल बल