एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार भारतको सामना गर्दैछ। खेल दशरथ रंगशालामा साँझ ५:३० बाट सुरु हुनेछ।
भारत विरुद्धको दोस्रो खेलमा खेल्ने सुरुवाती ११ सार्वजनिक भएको छ। प्रशिक्षक अलमुताइरीले भारत विरुद्ध खेल्न ४-३-३ को रणनीतिका साथ सुरुवाती ११ मैदानमा उतार्ने भएका छन्। गोलरक्षकको भूमिकामा कप्तान किरण कुमार लिम्बुले सुरुवात गर्ने भएका छन्। यससँगै उनले यसअघिका कप्तान रहेका विराज महर्जनको सर्वाधिक क्याप जित्ने रेकर्ड तोड्दै नेपाली राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी बनेका छन्। विराजले यसअघि नेपालका लागि ७३ क्याप जितेका थिए। किरणको यो नेपाली राष्ट्रिय टोलीका लागि यो ७४ औं खेल हो।
डिफेन्डरमा सुजल श्रेष्ठ लेफ्ट ब्याकको रूपमा खेल्नेछन् भने गौतम श्रेष्ठ दायाँ तर्फ रहनेछन्। सेन्टर डिफेन्समा अनन्त तामाङ र दिनेश राजवंशीले सुरुवात गरेका छन्। मिडफिल्डमा पुजन उपरकोटि, तेज तामाङ र सुमन लामा रहेका छन्।
भारत विरुद्ध नेपाली टोलीको आक्रमण पङ्क्ति मनिष डाँगी, आशिष लामा र आयुष घलानले सम्हाल्नेछन्। भारत विरुद्ध प्रशिक्षक अलमुताइरीले उतारेको सुरुवाती ११ यस प्रकार छ:-
गोलकिपर: किरण कुमार लिम्बु
डिफेन्डर: सुजल श्रेष्ठ , दिनेश रास्जवंशी, अनन्त तामाङ र गौतम श्रेष्ठ
मिडफिल्डर: पुजन उपरकोटि, तेज तामाङ र सुमन लामा
फरवार्ड: मनिष डाँगी, आशिष लामा र आयुष घलान
कसरी लाइभ हेर्ने त खेल ?
नेपाल र भारत बीच हुन लागि मैत्रीपूर्ण खेल हिमालयन टिभीबाट प्रत्यक्ष रूपमा हेर्न सकिनेछ। त्यस्तै, ओएसआर युट्युब च्यानल तथा हाम्रो पात्र यापबाट पनि नेपाल र भारत बीचको दोस्रो मैत्रीपूर्ण खेल लाइभ हेर्न मिल्नेछ। खेल नेपाली समय अनुसार साँझ ५:३० बाट त्रिपुरेश्वोर स्थित दशरथ रंगशालामा सुरु हुनेछ।