बिक्री सुरु भएको १२ घण्टा भित्र नै म्यानचेस्टर युनाइटेड खेलाडी क्रिस्टियानो रोनाल्डोको जर्सी प्रिमियर लिग खेलाडीको सबैभन्दा बढी बिक्ने जर्सी बनेको छ। सन् २००९ मा क्लब छाडेका रोनाल्डो १२ वर्षपछि पूर्व क्लबमा फर्किएका हुन्।
क्लबमा पोर्चुगिज स्टारले कुन जर्सी लगाउने भन्ने पक्का नभएका कारण उनको जर्सी बिक्री गर्न ढिलाई भएको थियो। तर रोनाल्डोले प्रसिद्ध ७ नम्बर जर्सी लगाउने पक्का भएसँगै रोनाल्डोको जर्सी बिक्री हुन सुरु भएको थियो। जसपछि शुक्रबारबाट क्लबले रोनाल्डोको जर्सी बेच्न सुरु गरेको थियो। जसको १२ घण्टा भित्र अर्थात् शनिबार बिहानसम्ममा क्लबले ठूलो मात्रामा पछाडी रोनाल्डो नाम लेखेको जर्सी बेचेको छ।
लभ ड सेल्सका अनुसार रोनाल्डोको जर्सी नम्बर सात बिक्री हुन सुरु भएको १२ घण्टा भित्र ३२.५ मिलियन भन्दा बढी रकमको जर्सी बेचिएको छ। यो नम्बरका साथै रोनाल्डोको जर्सी प्रिमियर लिग इतिहास मै सबैभन्दा छिटो बिक्री हुने जर्सी बनेको छ। यसका साथै उक्त जर्सी यस सिजन सबैभन्दा बढी बिक्री हुने जर्सी पनि बनेको छ।
क्लबमा दोस्रो पटक अनुबन्ध भएपछि एक खेल पनि नखेलेका रोनाल्डोले मैदान बाहिर भने रेकर्ड तोड्न भने सुरु गरिसकेका छन्। पोर्चुगिज राष्ट्रिय टोलीबाट फुकुवा भएका रोनाल्डो म्यानचेस्टर पुगिसकेका छन्। क्लबका लागि उनको दोस्रो डेब्यु अन्तराष्ट्रिय ब्रेकपछि न्युकासल विरुद्ध हुने सम्भावना रहेको छ।