‘पर्ख र हेर’ मा मुख्यमन्त्री शाक्य !

हेटौंडा – स्पष्ट अल्पमतमा परे पनि वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘पर्ख र हेर’ को नीतिमा रहनुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सातामा अल्पमतमा पर्नुभएकी शाक्य कसरी अगाडि बढ्ने भन्नेबारे ‘पर्ख र हेर’ को अवस्थामा रहनुभएको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षामा शाक्यले आइतबार सञ्चारकर्मीसँग प्रदेशमा आधिकारिकरूपमा दल विभाजन भएपछि मात्र सरकारको आगामी भूमिका तय हुने बताउनुभयो ।

विपक्षीहरु अविश्वासको प्रस्तावतर्फ अगाडि बढिसकेका बेला मुख्यमन्त्री शाक्यले विपक्षी दलले अविश्वास प्रस्ताव ल्याए त्यसको सामना गर्न फरक भूमिका निर्वाह गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिलादेखि सम्बन्ध राम्रो हुँदा विपक्षी दलहरुले अविश्वासको प्रस्ताव ल्याउनुहुन्छ जस्तो त मलाई लाग्दैन । हामीले उहाँहरुको भूमिका पनि हेर्नुपर्ने हुन्छ । दल विभाजनपछि केकस्तो अवस्था आउँछ, त्यहीअनुसार अघि बढ्छौं । छाड्नपर्ने अवस्था आएछ भने छाड्न पनि तयार छौं ।’ प्रतिपक्षको प्रस्तुतिअनुसार आफू अगाडि बढ्ने भन्दै विपक्षी दलका नेतासँगको विगतको सम्बन्धका आधारमा सहमति र सहकार्यको गृहकार्य गरिने उहाँको भनाइ छ ।

उहाँले आफूहरु प्रतिपक्षमा बस्नुपर्ने अवस्था आए सहर्ष स्वीकार गरिने बताउनुभयो । ‘जनताको काममा इमानदारितासाथ लागेका छौं । जति दिन सरकारको नेतृत्व पाउँछौं, हामी काम गर्छाैं । प्रतिपक्षमा बस्नुपर्ने अवस्था आए सहर्ष स्वीकार गर्छौं ।’ –उहाँले भन्नुभयो ।

उहाँले हालसम्म प्रदेशमा आधिकारिकरुपमा पार्टी विभाजन भइनसकेको भन्दै आफूले २२ गते कुरेर बसेको बताउनुभयो । ‘केही साथीहरुले एमाले छाडेर नयाँ दल रोजिसक्नुभएको छ । तर, २२ गतेसम्म दल चयनको समय छ । त्यसपछि मात्र एमाले विभाजन भएर हामी अल्पमतमा पर्ने हो’, उहाँले भन्नुभयो– ‘एमाले आधिकारिकरूपमा विभाजन भएपछि कस्तो परिस्थिति आउँछ, त्यसलाई सामना गरेर अघि बढ्छौं ।’

नेकपा एमाले वागमती प्रदेशको संसदीय दलको बैठकमा शाक्यले आफू एमालेमा नै रहेको बताउनुभएको थियो । उहाँले बैठकमा आफ्नो विषयमा भ्रम फैलाउन खोजिएको भन्दै गुनासो पनि गर्नुभएको थियो । एमाले वागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले भन्नुभयो– ‘पार्टीलाई एकताबद्ध बनाउन हामीले अभियान अगाडि सारेका हौं । सरकार टिकाउने र जनताको पक्षमा लाग्ने कुरामा अनवरत छौं ।’

प्रकाशित : सोमबार, भदौ २१, २०७८०७:५०

एक्लिँदै देउवा, आफ्नैहरुले छाड्न थाले साथ !