३६ वर्षीय क्रिस्टियानो रोनाल्डो र ३४ वर्षीय लियोनल मेस्सी बीच को उत्कृष्ट भन्ने प्रश्न विगत १५ वर्ष देखि चल्दै आएको छ। विगत एक दशक यी दुई खेलाडीले विश्व फुटबल जगत कै सबैभन्दा प्रतिष्ठित अवार्ड ब्यालुन डी ओर अवार्डमा एकक्षत्र राज गरे। मेस्सीले ६ पटक उक्त अवार्ड जित्दा रोनाल्डो ५ पटक विजेता घोषित भए।
रोनाल्डो र मेस्सीलाई ब्राजिलियन दिग्गज पेले र अर्जेन्टिनी लेजेण्ड डिएगो म्याराडोनाका साथ फुटबल इतिहास कै सर्वश्रेष्ठ खेलाडीमा गनिन्छ। यी दुबै स्टारले यस समरमा सारा विश्वलाई नै चकित बनाए जब मेस्सी पीएसजी र रोनाल्डो पूर्व क्लब म्यानचेस्टर युनाइटेड प्रस्थान गरे।
यस्तोमा रोनाल्डोका ठूला प्रशंसक पियर्स मोर्गनले इटालीमा हुँदा आफ्नो र रोनाल्डो बीच भएको विशेष कुराकारीको बारेमा बताएका छन्। पूर्व गुड मार्निंग ब्रिटेन प्रस्तुतकर्ता मोर्गनले मेस्सीको बारेमा रोनाल्डोले के सोच्छन् भन्ने बारे खुलासा गरेका छन्। रोनाल्डोका अनुसार मेस्सी नै आफू विरुद्ध खेलेका सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। तर रोनाल्डो स्वयम् नै फुटबल जगतका गोट रहेको पनि रोनाल्डोले बताएका थिए।
डेल्ली मेलका लागि लेखेको कोलममा मोर्गन लेख्छन्,”‘तपाईं विरुद्ध खेलेका सबैभन्दा उत्कृष्ट खेलाडी को हुन् ?’ मैले प्रश्न गरें।” भर्खरै म्यानचेस्टर प्रस्थान गरेका रोनाल्डो इटाली मै हुँदा टुरीनमा रोनाल्डोको मनपर्ने रेस्टुरेन्टमा राति १ बजेको समयमा यस्ता कुराकानी भएको मोर्गनले उल्लेख गरेका छन्।
“यस्तो प्रश्नमा रोनाल्डोले तुरुन्त उत्तर दिए,’मेस्सी।’ आफ्नो चिर-प्रतिद्वन्दीको नाम लिनु मेरो लागि आश्चर्यजनक थियो र मैले पुनः सोधें,’साँच्चै?’ जसमा रोनाल्डोले भने,’बिना कुनै शंका मेरो विरुद्ध खेल्ने सर्वोत्कृष्ट खेलाडी मेस्सी हुन्।'” जसपछि रोनाल्डोले मोर्गनलाई आफूले सायद गलत प्रश्न सोधेको र उक्त प्रश्नको स्थानमा को सर्वोत्कृष्ट हो भने सोध्नुपर्ने बताएको मोर्गनले उल्लेख गरेका छन्। तर उक्त प्रश्नको उत्तर आफूलाई सायद थाहा भएको रोनाल्डोलाई मोर्गनले जानकारी गराएका थिए। मोर्गनले रोनाल्डोलाई नै फुटबल जगतका सर्वश्रेष्ठ खेलाडी मान्ने गरेका छन्।