राष्ट्रिय टोलीका प्रशिक्षक अलमुताइरी लागे कतार !

काठमाडौं  – राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी सोमबार कतारतर्फ प्रस्थान गरेका छन् । भारतसँगको दुई मैत्रीपूर्ण खेल लगत्तै अलमुताइरी कतार लागेका हुन् । आइतबार भएको दोस्रो खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो भने बिहीबारको पहिलो खेल १–१ को बराबरी खेलेको थियो ।

पाली टोलीले साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा गर्ने भएकोले त्यसको लागि अलमुताइरी अगाडि नै त्यसतर्फ गएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । अलमुताइरीले त्यहाँ मैत्रीपूर्ण खेलका लागि समेत पहल गर्ने बताइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघसँग विगतमा सहकार्य गर्ने सम्झौता भएअनुसार नेपाली टोलीको प्रशिक्षक कतारमा हुन लागेको उपाध्यायले बताए । कतार फुटबल संघकै सहयोगमा प्रो लाइसेन्स प्राप्त कुवेती अलमुताइरीले चैतमा नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

२४ सदस्यीय खेलाडीसहित राष्ट्रिय टोली शुक्रबार कतार प्रस्थान गर्नेछ । इन्डोनेसियामा रहेका रक्षक रोहित चन्द भने उतैबाट कतारमा टोलीमा सामेल हुने बताइएको छ । त्यहाँ दुई साता भन्दा लामो अभ्यासपछि टोली असोज ११ गते कतारबाट माल्दिभ्स जानेछ । माल्दिभ्समा असोज १५ गतेबाट साफ च्याम्पियनसिप आयोजना हुँदैछ ।

साविक विजेता समेत रहेको माल्दिभ्ससँग खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपाल, माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले मात्र यसपटकको साफ च्याम्पियनसिपमा भाग लिनेछन् । राउन्ड रोविन लिगका आधारमा शीर्ष दुई टोलीले असोज ३० गते फाइनल खेल्नेछन् । नेपाल र भारतबीच असोज २४ गते खेल हुनेछ । नेपाल अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन ।

अलमुताइरीको नेतृत्वमा राष्ट्रिय टोलीले विश्व कप छनोटका ३ खेल र ३ मैत्रीपूर्ण खेल खेलेको छ । विश्व कप छनोटमा नेपालले चाइनिज ताइपेलाई २–० ले हराएको थियो भने अष्ट्रेलिया र जोर्डनसँग समान ३–० ले पराजित भएको थियो । त्यस्तै उनको नेतृत्वमा नेपालले इराक ६–२ र भारतसँगको मैत्रीपूर्ण खेल २–१ ले गुमाएको थियो भने भारतसँगको अर्को खेलमा १–१ को बराबरी खेलेको थियो ।

प्रकाशित : सोमबार, भदौ २१, २०७८१५:४४

जेसे लिंगार्ड बने क्रिस्टियानो रोनाल्डो, गोल गरेपछि गरे रोनाल्डोको सेलिब्रेसन !