पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डोले १२ वर्षपछि रेड डेभिलका लागि पहिलो खेल खेल्नेछन्। १८ वर्षको उमेरमा म्यानचेस्टरसँग अनुबन्ध भएसँगै विश्व फुटबलमा सुपरस्टार रोनाल्डोको उदय भएको थियो।
सन् २००९ मा रियल म्याड्रिड प्रस्थान गरेका रोनाल्डोले १२ वर्ष स्पेनिस क्यापिटल र युभेन्टसमा बिताएपछि म्यानचेस्टरमा दोस्रो कार्यकालका लागि तयार रहेका छन्, तर क्लबका लागि उनको दोस्रो डेब्यु कहिले हुन्छ त ?
ओले गनर सोल्सारको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले आफू क्लबमा पुनः खेल्नको लागि उत्साहित रहेको बताएका छन्। ५ पटकका ब्यालुन डी ओर विजेताले आफू आफ्नो घर फर्किएको र क्लबमा जति सक्दो धेरै खेल तथा उपाधि जित्न आएको बताएका छन्। यस्तोमा रोनाल्डोले कहिले युनाइटेडका लागि पहिलो खेल खेल्छन् भन्ने सबैको चासोको विषय बनेको छ।
३६ वर्षीय स्ट्राइकरले युभेन्टसबाट म्यानचेस्टर आएपछि क्लबका लागि पहिलो खेल प्रिमियर लिगको चौंथो चरणको खेलमा न्युकासल विरुद्ध सेप्टेम्बर ११ मा खेल्ने सम्भावना उच्च रहेको छ। हालै एक अन्तर्वार्तामा प्रशिक्षक सोल्सारले पनि पोर्चुगिज कप्तानले न्युकासल विरुद्ध खेल्ने सम्भावना रहेको बताएका थिए।
कहिले छ म्यानचेस्टर युनाइटेड विरुद्ध न्युकासल खेल ?
खेल: म्यानचेस्टर युनाइटेड विरुद्ध न्युकासल
मिति: ११ सेप्टेम्बर, शनिबार
समय : साँझ ७:४५