ब्राजिलियन दिग्गज रोनाल्डो नाजारियोले पीएसजीलाई मेस्सी अनुबन्ध गर्दैमा च्याम्पियन्स लिग आफूले नै जित्छु भनेर ढुक्क नहुन चेतावनी दिएका छन्। पूर्व रियल तथा बार्सिलोना स्टारले कुनै पनि टोलीमा च्याम्पियन्स लिग जित्नको लागि थुप्रै कुरामा उत्कृष्ट हुनु पर्ने बताएका छन्।
फुटबल इतिहास मै सर्वश्रेष्ठ मध्ये एक मानिने पूर्व ब्यालुन डी ओर विजेताले पीएसजीलाई एक खेलाडीमा धेरै आशा नराख्न पनि सुझाव दिएका छन्। डायरियो एएससँगको एक अन्तर्वार्तामा बोल्दै रोनाल्डोले भने,”कुन क्लबले च्याम्पियन्स लिग जित्छ भन्न अझै छिटो हुन्छ।”
आफूले रियल म्याड्रिडको ग्याल्याक्टिको टोलीमा ५ वर्ष खेल्दा पनि एक पटक पनि च्याम्पियन्स लिग जित्न नसकेको उदाहरण दिँदै पूर्व विश्व विजेताले भने,”मैले रियल म्याड्रिडको ग्याल्याक्टिको टोलीमा ५ वर्ष खेलें तर मैले कहिल्यै च्याम्पियन्स लिग जित्न सकिन। जीत कहिल्यै गणितीय हुँदैन, तपाईंसँग बेस्ट टोली छ भने पनि। पीएसजीका लागि पनि त्यहि लागू हुन्छ।”
आफ्नो उत्कृष्ट करियरमा हरेक उपाधि तथा व्यक्तिगत सम्मान प्राप्त गरेका ४४ वर्षीय ब्राजिलियनले च्याम्पियन्स लिग उपाधि भने कहिल्यै जित्न सकेनन्। हाल स्पेनिस क्लब रियल भालाडोलिडका अध्यक्ष रहेका रोनाल्डोले युरोपियन सफलताका रूपमा सन् १९९७ र १९९८ मा क्रमशः युईएफए कप र युईएफए कप विनर्स कप जित्न सफल भएका थिए।