तीजको दिन अझै घट्यो सुनको मूल्य, २५ दिन यता कै सस्तो !

बुधबार यो महिनाकै सबैभन्दा सस्तो भएको सुनको भाउ बिहिबार पनि घटेको छ। आज महिलाहरुको महान चाड तीजको दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार ७ सय रुपैयाँले घटेको सुनको भाउ आज भने १ सय रुपैयाँले घटेको छ।

तीजको दिन आएको सामान्य गिरावटसँगै बिहिबार छापवाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो।

बिहिबार तेजाबी सुनको मूल्यमा पनि एक सय रुपैयाँको गिरावट आएको छ। जससँगै आज तेजाबी सुन तोलाको ९० हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार २ सय कायम भएको थियो।

सुन २५ दिन यताकै सस्तो

बिहिबार कायम भएको सुनको मूल्य गत २५ दिन यता कै सस्तो रहेको छ। गत साउन ३२ गते छापावाला सुनको मूल्य ९० हजार ६ सय र तेजाबी सुनको मूल्य ९० हजार १ सय रुपैयाँ कायम भएको थियो। त्यसपछि भने कुनै दिन पनि सुनको भाउ आजको विन्दुमा आएको थिएन।

त्यस्तै, बिहिबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार १२ सय २० मा कारोबार भएको सुनको मूल्यमा बिहिबार १० रुपैयाँको गिरावट आएको छ। जससँगै आज चाँदीको भाउ १२ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बिहिबार, भदौ २४, २०७८१०:५७

लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि घट्यो !