रोनाल्डो युनाइटेड आएपछि सुखद समस्यामा ओले गुनार सोल्साएर !

सिटी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको ट्रान्सफर विन्डोमा इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किए । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोको आगमनसँगै युनाइटेडले सुखद समस्याको सामना गर्नुपर्ने भएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

रोनाल्डोअघि युनाइटेडले युवा विंगर जेडन सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट अनुबन्धन गरेको थियो । क्लबले भेट्रान फरवार्ड एडिन्सन काभानीले पनि सिजनको सुरुवातमा एक वर्ष थप्दै सम्झौता नविकरण गरेका थिए ।

क्लबमा यसअघि नै मार्कस रासफर्ड, मेसन ग्रिनवुड र एन्थोनी मार्सियल आक्रमणमा खेल्ने खेलाडीका रुपमा रहेका छन् । यस्तो अवस्थामा प्रशिक्षक ओले गुनार सोल्साएरलाई कुन खेलाडी छनोट गर्ने भन्ने सुखद समस्या पर्नेछ ।

युनाइटेडले शनिबार न्युकासल युनाइटेडको सामना गर्दा टोली छनोट कस्तो हुन्छ भन्ने व्यग्र प्रतीक्षा छ । सोल्साएरले रोनाल्डोलाई डेब्यु दिने लगभग पक्का छ । उनी बुधबार देखि प्रशिक्षण नै गर्न थालिसकेका छन् ।

सान्चोले इंग्ल्यान्डसँग रहँदा चोट बोकेका कारण खेल्नेमा दुविधा छ । अन्य खेलाडी भने छनोटका लागि उपलब्ध छन् । रोनाल्डो उमेरले ३६ वर्ष भएपनि मैदानभित्र निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गत सिजन युभेन्टसले अपेक्षित प्रदर्शन गर्न नसकेपनि व्यक्तिगत रुपमा रोनाल्डोको प्रदर्शन भने राम्रो नै रहेको थियो । उनी क्लबका सर्वाधिक गोलकर्ता समेत रहेका थिए ।

त्यसो त रोनाल्डोले गत साता मात्र आफ्नो स्तर सिद्ध गरेका छन् । पोर्चुगलका लागि खेल्दै रोनाल्डोले अन्तिम समयमा दुई गोल गर्दै टोलीलाई हारको संघारबाट जित दिलाए । यसक्रममा उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत कायम गरे । रोनाल्डोको आगमनले युनाइटेडलाई मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि फाइदा पुग्नेछ । युवा आक्रमणमा रोनाल्डोको अनुभव थपिंदा खेलाडी छनोटमा समस्या पक्कै हुन्छ, तर यसलाई सुखद छनोट मान्न सकिन्छ ।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८०९:१७

मेस्सी दक्षिण अमेरिकाको सर्वाधिक गोलकर्ता, रोनाल्डो पूरा विश्वको !