‘नचाहिए एमसीसी अस्वीकृत गर्नु’

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार बिहीबार काठमाडौंमा उत्रिएलगत्तै भेटघाटमा व्यस्त भएकी छन्। सम्झौता भएको चार वर्षसम्म पनि कार्यान्वयनमा नआएको एमसिसीबारे राजनीतिक दल र नेपाली जनतामा समेत आशंका उत्पन्न भएपछि सुमार नेपाल भ्रमणमा आएकी हुन्। उनले नेताहरूसँगको भेटघाटमा एमसिसीबारे उठेका प्रश्नमा प्रस्ट पार्ने कोसिस गरेकी छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

सुमारको भ्रमण मिति नजिकिँदै गर्दा अर्थ मन्त्रालयले गत शुक्रबार नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसिसी मुख्यालयलाई पत्र लेख्दै जनस्तर तथा राजनीतिक तहमा उठेका प्रश्नबारे प्रस्ट पार्न आग्रह गरेको थियो। मुख्यालयले यी प्रश्नको जबाफ बुधबार नै नेपाललाई पठाइसकेको छ।

कडा सुरक्षाका बीच काठमाडौं उत्रिएकी सुमारले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छन्। ओलीसँगको भेटमा अमेरिकाले सहयोगका रूपमा एमसिसी नेपालमा कार्यान्वयन गर्न खोजेको सुमारले स्पष्ट पारिन्। लामो समयको छलफलपछि नेपालसँग एमसिसी सम्झौता भएको बताउँदै उनले यसलाई लिएर विवाद गर्नुपर्ने कारण नभएको जिकिर गरिन्।

ओलीले आफू सरकारमा हुँदा पार्टीभित्र मतभेद हुँदाहुँदै पनि जिम्मेवार सरकारको नाताले सम्झौता अघि बढाउन खोजेको तर सभामुखको असहयोगका कारण प्रक्रिया अघि बढ्न नसकेको बताएका थिए। अहिले भने आफूहरूको भूमिका बदलिएको र सरकारमा हुँदा खेलेको जस्तो भूमिका विपक्षीमा हुँदा खेल्न नमिल्ने ओलीले स्पष्ट पारेको एमाले नेता राजन भट्टराईले जानकारी दिए।

छलफलमा ओलीले सत्तारुढ दलबाट एमसिसीका विषयमा आफूहरूसँग कुनै छलफल नभएको र सत्तारुढ दलले पनि कुनै निर्णय गरिनसकेकाले हाल यो विषय सत्तारुढ दलहरूकै जिम्मामा रहेको बताएका थिए। ओलीले सत्तारुढ दलले के गर्दैछन् भन्ने जानकारी नभएकाले प्रतिपक्षीले हतारिएर बोल्नु अपरिपक्व हुने बताएका थिए।

सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको भेटमा पनि एमसिसीलाई लिएर उठेका प्रश्नबारे प्र्रस्ट पार्ने प्रयास गरेकी थिइन्। ‘छलफल एमसिसीका बारेमा उठेका प्रश्नमै केन्द्रित भयो। उहाँहरूले यसबारेमा स्पष्ट पार्ने र हामीले सुन्ने काम भयो,’ छलफलमा सहभागी नेता गंगाधर तुलाधरले नागरिकसँग भने।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८०९:२७

एमसीसी पास हुनेमा फातिमा ढुक्क !