आलोचकलाई रोनाल्डोको कडा जवाफ- “बुढो भयो भन्नेलाई सबै उपाधि जितेर देखाइदिन्छु”

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो ओल्ड ट्राफर्डमा अघिल्लो कार्यकालमा जस्तै सफलता प्राप्त गर्न दृढ छन्। यहि सिजन मात्र म्यानचेस्टर फर्किएका रोनाल्डोले क्लबमा अबको ३-४ वर्ष रहने संकेत दिएका छन्।

क्लबका लागि हरेक एक उपाधि जित्ने लक्ष्यका साथ रेड डेभिलसँग २ वर्षीय अनुबन्धमा हस्ताक्षर गरेका र रोनाल्डोको सम्झौता १ वर्ष थप गर्ने विकल्प पनि रहेको छ। १२ वर्षपछि आफू सुपरस्टार बन्ने यात्रा सुरु गरेको क्लबमा फर्किएका रोनाल्डोले क्लबमा आफ्नो महत्वाकांक्षाको रूपरेखा तयार गरेका छन्। यसका साथै आफू म्यानचेस्टर क्लबमा सन् २०२५ सम्म रहने पनि संकेत रोनाल्डोले गरेका छन्।

शनिबार बेलुका न्युकासल विरुद्धको खेलमा क्लबका लागि दोस्रो पटक डेब्यु गर्ने सम्भावना रहेको रोनाल्डोले म्यानचेस्टर युनाइटेड टिभीमा पूर्व टिममेट वेस ब्राउनसँग कुरा गर्दै उनले क्लबलाई उपाधि जिताउन सफल होलान् त भन्ने प्रश्नमा भने,”त्यसैका लागि त म यहाँ आएको छु। म बिदा मनाउन क्लब आएको हैन। म यहाँ पुन: जित्न आएको हुँ। म तयार छु र अबको ३-४ वर्षका लागि क्लबमा म निकै खास चिज हुनेछु।”

 

रोनाल्डोले रेड डेभिललाई उपाधि जिताउन सक्दैनन् भन्नेलाई पनि उत्तर दिँदै रोनाल्डोले थपे,”पहिला पनि मानिसले मेरो उमेरको बारेमा कुरा गरेका हुन्। तर उनीहरुले थाहा पाउनु पर्छ कि म अरु भन्दा फरक छु। सारा विश्व भन्दा फरक छु।” क्लबमा ६ वर्ष बिताएपछि सन् २००९ मा रियल म्याड्रिड प्रस्थान गरेका रोनाल्डो १२ वर्षपछि पुन: म्यानचेस्टर फर्किएका हुन्।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८१०:४८

कोम्यानको नजरमा नेयमार भन्दा लूक डे जोङ्ग उत्कृष्ट र खतरनाक !