एजेन्सी – एक हप्ता भन्दा केही समय अगाडी मात्रै बन्द भएको ट्रान्सफर विन्डोमा फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे सबै भन्दा बढी चर्चामा रहे। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको ट्रान्सफर मूख्य केन्द्रमा रहेपनि एम्बाप्पे कम चर्चामा रहेनन्। मेस्सी र रोनाल्डोको ट्रान्सफरले जति ठाउँ पाए, एम्बाप्पे रियल जाने चर्चाले पनि उत्तिकै ठाउँ पायो।
मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेपछि एकाएक पिएसजी छाड्ने मनस्थितमा पुगेका एम्बाप्पेलाई अनुबन्ध गर्न स्पेनिस महारथी क्लब रियल म्याड्रिडले हदै सम्मको प्रयास गर्यो। एम्बाप्पेका लागि रियल खुलेरै अगाडी आएको थियो। रियलको तर्फबाट पिएसजी समक्ष कुल तीन प्रस्ताव राखिए।
१ सय ६० मिलियन युरोबाट शुरु भएको रियलको प्रस्तावले २ सय मिलियन युरो समेत नाघ्यो। एम्बाप्पेका लागि २ सय मिलियन युरो भन्दा बढी रकम तिर्न रियल तयार हुँदा पनि पिएसजी आफ्नो अडानमा छाडेन। फलस्वरूप एम्बाप्पे भित्र्याउने रियलको सपना तत्कालका लागि पूरा हुन सकेन।
एम्बाप्पे कम्तीमा एक सिजन अब पिएसजीमा रहने भएका छन्। एम्बाप्पेलाई पुनः फकाउन शुरु गर्ने पिएसजीको तयारी छ। एम्बाप्पेलाई क्लबमै अड्याउन पिएसजीले विभिन्न आकर्षक प्रस्ताव गर्ने बताइन्छ। त्यस्तै रियल पनि एम्बाप्पेलाई भित्र्याउन सक्दो प्रयास गर्ने योजनामा छ।
एम्बाप्पेलाई जनवरीमै हाइज्याक गर्ने योजनामा रियल
पिएसजीमा एम्बाप्पेको सम्झौता सन् २०२२ जुन महिना सम्मका लागि मात्र छ। एम्बाप्पे र पिएसजी नयाँ सम्झौताका लागि सहमत हुन नसकेको एम्बाप्पे जनवरी २२ पछि नयाँ क्लबको सम्पर्कमा रहन पाउनेछन्। त्यसपश्चात एम्बाप्पेको फ्री ट्रान्सफर हुनेछ।
रियल अब सोहि दिनको प्रतिक्षामा छ। एम्बाप्पेलाई पिएसजीले नयाँ सम्झौताका लागि सहमत गराउन नसकेको खण्डमा जनवारी २२ पश्चात एम्बाप्पेसँग रियलले प्रि-एग्रिमेन्ट गर्न सक्नेछ।