काठमाडौँ – सरकारले दीर्घ रोगीलाई हरेक महिना भत्ता दिने तयारी गरेको छ। सरकारले दीर्घ रोगबाट ग्रसित नागरिकहरुलाई मासिक पाँच हजार भत्ता दिने तयारी गरेको हो।
सरकारले बजेटको प्रतिस्थापन विधेयकमार्फत दीर्घ रोगीका लागि मासिक पाँच हजार रुपैयाँ भत्ताको व्यवस्था गर्ने तयारी गरेको बताइएको छ। प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा बजेटको प्रतिस्थापन विधेयकमार्फत यस्तो व्यवस्था गर्न लागिएको हो।
सरकारले व्यवस्था गर्न लागेको भत्ता स्पाइनल इन्जुरी भएर पक्षघात भएका, मृगौला फेल भएर डायलाइसिस गरिरहेका, ओपन हार्ट सर्जरी गरेका, पार्किन्सन र अल्जाइमर्सका रोगी लगायतले पाउनेछन्।
यस अगाडी प्रधानमन्त्री हुँदा देउवाले दीर्घ रोगीलाई पाँच हजार भत्ता दिने निर्णय गरेका थिए। सो निर्णय मन्त्रिपरिषद्बाट पारित समेत भएको थियो। तर पछि नयाँ प्रधानमन्त्रीको रुपमा आएका केपी शर्मा ओलीले उक्त कार्यक्रमलाई रोकेका थिए।
बजेटसम्बन्धी तीन विधेयक पारित
बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएका हुन्।
शुक्रबारको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे। तीन विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको थियो।