काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सांसद रेखा झाले सभामुख अग्निप्रसाद सापकोटालाई त्यसै नछाड्ने बताएकी छन्। नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयक पेश भएपछि सांसद झाले सभामुखलाई नछाड्ने बताएकी हुन्।
शुक्रबार एमालेको विरोध र नाराबाजीका बीच संसद बैठकमा विभिन्न विधेयक पेश भए। एमालेका सांसदहरुले लगातार नाराबाजी गरेपनि सभामुख पेलेरै अगाडी बढे। जसकारण एमाले सांसद थप आक्रोशित हुन पुगे। त्यसक्रममा एमाले सांसदहरुले सभामुखलाई माइक प्रहार गर्ने प्रयास समेत गरे। सभामुखलाई माइक प्रहार गर्न खोज्नेमा सांसद झा पनि थिइन्।
बैठक पश्चात संसद भवनबाट बाहिरिने क्रममा झाले सभामुखलाई माइकले हान्न खोजेको स्विकार मात्र गरिनन्, मौका मिले अझै हान्ने पनि बताइन्। सभामुखले संसदीय मर्यादा कायम नगरेको भन्दै उनले आक्रोश पोखिन्।
उनले भनिन्,”मिलेको भए त्यही माइकले म सभामुखको टाउकोमा हान्थेँ। सभामुखले संसदीय मर्यादा कायम राखेनन्। अब मौका पाएँ भने म सभामुखको टाउकोमा हान्छु।”
अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस
अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८÷७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गरेका हुन् ।
उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्वपूर्ण विषय समावेश रहेको छ । विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।
प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीका बीच उहाँले उक्त विधेयक प्रस्तुत गरेका हुन् हो ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदले यसअघि झैँ उठेर रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।