काठमाडौं । निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो ।
रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट÷अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
भारतको केरलामा भेटिएको निपा भाइरसको संक्रमणको अवस्थाबारे छलफल गर्दै मन्त्रालयले त्यस्ता केसहरु देखा परेमा विस्तृत विवरणसहित परीक्षणका लागि संकलित नमुना टेकुमा पठाउन अस्पतालहरुलाई निर्देशन दिएको थियो । केरलामा यो भाइरसबाट गत आइतबार १२ वर्षीय एक बालकको मृत्यु भएको थियो । केरलाको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका बालकको क्लोज कन्ट्याक्टमा रहेका १८ र संक्रमण सरेको हुन सक्ने सम्भावना भएका १५० भन्दा धेरैलाई क्वारेन्टिन राखेर नमुना परीक्षण गरियो । तर सबैको निपा परीक्षण नेगेटिभ आएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शंकास्पद बिरामीहरुको नमुना परीक्षणका लागि प्रयोगशालासम्म ल्याउने मेकानिज पनि मन्त्रालयसँग रहेको बताए । डा. पौडेलका अनुसार देशभरका जिल्ला, प्रदेश, एवं केन्द्रीय गरी ११८ वटा अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरु छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेल निपा भाइरसको संक्रमण नेपालमा देखा परिनसकेको बताउँछन् ।
‘नेपालमा यसको संक्रमण देखा परिसकेको छैन । तर जोखिम चाहिँ छ । चमेरा, सुङ्गुर लगायतका जनावरबाट यो संक्रमण सर्छ । त्यसैले यसलाई जुनोटिक डिजिज पनि भनिन्छ,’ डा. पौडेलले भने, ‘यसको संक्रमण नेपालमा पनि देखिन सक्छ भनेर अलर्ट गराएका हौं ।’ ‘समयमै रोगको पहिचान हुन सकेन । एक्कासी बिरामीको अवस्था जटिल हुन गयो । उपचार गर्दागर्दै सडेन डेथ हुन पुग्यो । त्यस्ता प्रकृतिका बिरामीहरुको विस्तृत विवरणसहित नमुना संकलन गरी टेकु पठाउन भनेका हौं,’ डा. पौडेलले भने, ‘त्यस्ता बिरामीहरुको बारेमा समयमै अनुसन्धान गरी सम्भावित महामारी न्यूनीकरणमा योजना बनाउन सहज हुने उद्देश्यका साथ सेन्टिनेल साइट÷अस्पतालहरुलाई रिपोर्टिङ गर्ने भनेका हौं ।’
समयमै सजगता अपनाउन नसके यसको संक्रमण फैलन सक्ने र धेरै जनाको ज्यान समेत जान सक्ने खतरालाई मध्यनजर राखेर ती क्षेत्रहरुमा निगरानी राख्न खोजिएको डा. पौडेलले बताए । सम्बन्धित अस्पतालहरुमा यसबारे निगरानी बढाउँदा महामारीसँग लड्नका लागि अनुसन्धान गर्न, यसको मुख्य कारण पत्ता लगाउन एवं भावी योजना बनाउन सहज हुने डा. पौडेलको भनाइ छ ।