मेस्सी र रोनाल्डो भन्दा आफू उत्कृष्ट भएको इब्राहिमोभिकको दाबी !

एसी मिलान स्टार ज्लाटान इब्राहिमोभिकले आफू विश्वकै सर्वश्रेष्ठ खेलाडी भएको दाबी गरेका छन्। आधुनिक समयका सर्वोत्कृष्ट खेलाडी मानिने मेस्सी र रोनाल्डो उपाधिको हिसाबले आफूभन्दा उत्कृष्ट भए पनि क्षमताको हिसाबले भने आफू उत्कृष्ट भएको बताएका छन्।

रोनाल्डोले शनिबार म्यानचेस्टर युनाइटेडका लागि आफ्नो अति-प्रत्याशित दोस्रो डेब्यु गर्दैछन्। त्यस्तै, मेस्सीले पनि यसै समरमा बार्सिलोना छाडेर पीएसजीसँग आवद्ध भएका छन्। विश्वका सर्वश्रेष्ठ मानिने दुई खेलाडीले पछिल्लो १२ वटा ब्यालुन डी’ओर अवार्डहरु मध्ये ११ वटा जितेका छन्, मेस्सीले ६ पटक जित्दा रोनाल्डो ५ पटक विजेता घोषित भएका छन्।

इब्राहिमोभिकले भने ११ पटक मनोनयन भइसक्दा पनि उक्त अवार्ड जित्न सकेनन्। सधैं आत्मविश्वासका साथ रहने ३९ वर्षीय स्ट्राइकर विश्वास गर्छन् कि उनी संसारकै सर्वश्रेष्ठ खेलाडी हुन् र दाबी गर्छन् कि उनीसँग रोनाल्डो वा मेस्सीको जत्तिकै गुण छ।

फुटबल इटालीद्वारा उद्धृत एक पत्रकार सम्मेलनमा इब्राहिमोभिकले भने,”यदि आन्तरिक गुणस्तरको बारेमा कुरा गर्ने हो भने मेस्सी र रोनाल्डोमा म भन्दा बढी केहि पनि छैन। उपाधि र अवार्डको कुरा गर्ने हो भने उनीहरु म भन्दा निकै आगाडी छन्। मैले च्याम्पियन्स लिग जितेको छैन। ब्यालुन डी ओर जित्न म त्यति आतुर पनि छैन। तर क्षमताको कुरा गर्ने हो भने म बेस्ट हो।”

अर्को महिना ४० वर्ष हुने स्विडिस स्ट्राइकरको खेलमा भने कमी आएको छैन। चोटका कारण हाल मैदान बाहिर रहेका एसी मिलान स्टारले क्लबका लागि आइतबार लाजियो विरुद्ध सिजनको पहिलो खेल खेल्नेछन्।

प्रकाशित : शनिबार, भदौ २६, २०७८१४:०४

मेस्सी बाहिरिएपछि बार्सिलोनाको स्टेडियम खालि-खालि हुन थाल्यो!