एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक गर्दा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एक नयाँ रेकर्ड बनाए। विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेलाई पछि पार्दै मेस्सी दक्षिण अमेरिकाको सर्वाधिक गोलकर्ता बने। पहिला पेलेको नाममा रहेको उक्त रेकर्ड मेस्सीको नाममा दर्ता भयो।
उमेर ढल्कँदै गएको अवस्थामा पनि मेस्सीले आफू थप बलियो प्रदर्शन गर्न र रेकर्डहरु तोड्न अझै सक्षम रहेको छनक दिए। अहिलेकै जस्तो प्रदर्शन केहि वर्ष गर्न सक्ने मेस्सीले कयौं रेकर्डहरु बनाउनेमा दुईमत छैन।
व्यक्तिगत उपाधि, क्लबस्तरिय उपाधि मात्र नभई देशस्तरिय उपाधि जित्ने मामलामा पनि मेस्सीले आफूलाई शिर्ष स्थानमा राख्न सफल भएका छन्। मेस्सी सर्वाधिक बालोन डी’ओर जित्ने खेलाडी हुन्। मेस्सीले अहिले सम्म ६ पटक बालोन डी’ओर उपाधि जितिसकेका छन्। त्यति मात्र नभई मेस्सी यस वर्षको बालोन डी’ओर दौडमा पनि अन्य खेलाडीहरु भन्दा अगाडी छन्। मेस्सीले पुनः बालोन डी’ओर जित्ने सम्भावना प्रवल छ।
बार्सिलोनाबाट खेल्दा मेस्सीले ६ सय ७२ गोल गरेका थिए। मेस्सी कुनै पनि एक क्लबका सर्वाधिक गोल गर्ने खेलाडी हुन्। विश्वका कुनै पनि खेलाडीले मेस्सीले जति एकै क्लबका लागि गोल गरेका छैनन्।
सन् २०१५ मा मेस्सी सात आधिकारिक प्रतियोगितामा गोल गर्ने एक्ला खेलाडी पनि बनेका थिए। मेस्सीले कोपा डेल रे, सुपरकोपा डे एस्पाना, च्याम्पियन्स लिग, लालिगा, कोपा अमेरिका, क्लब विश्वकप र दक्षिण अमेरिकी क्वालिफायरमा गोल गरेका थिए।
त्यति मात्रै नभई मेस्सी एकै वर्षमा बालोन डी ओर, फिफा विश्व खेलाडी, द बेस्ट र गोल्डेन बुट जस्ता ४ उपाधि जित्ने एक्ला खेलाडी पनि हुन्। यस्तो सफलता मेस्सीलाई दुई पटक मिलेको छ। सन् २०११-१२ र २०१९-२० को सिजनमा मेस्सीले यी चार उपाधि जितेका थिए।