एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था युईएफएका अध्यक्ष एलेक्साडर केफेरिनले युरोपेली सुपर लिग गठन गर्ने क्लबहरुले च्याम्पियन्स लिग नखेलेपनि फरक नपर्ने बताएका छन्।
एक पत्रिकालाई अन्तर्वार्ता दिनेक्रममा केफेरिनले युरोपेली सुपर लिग नामक नयाँ लिग गठन गरेका क्लबहरुले च्याम्पियन्स लिग नखेल्ने निर्णय गरेपनि केहि फरक नपर्ने बताएका हुन्।
रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसले च्याम्पियन्स लिग नखेल्ने निर्णय लिए पनि समस्या नहुने उनले बताए। नयाँ लिग गठन गर्ने निर्णय पनि गर्ने र च्याम्पियन्स लिग पनि खेल्ने क्लबहरुको निर्णय देखेर आफूलाई अचम्म लागेको उनको भनाई छ।
“यदि उनीहरु गए भने पनि केही फरक पर्दैन।”,युरोपेली सुपर लिगका क्लबहरु प्रति लक्षित गर्दै उनले भने,”उनीहरु नयाँ लिग शुरु गर्न चाहन्छन् र च्याम्पियन्स लिग पनि खेल्न चाहन्छन्, यो साँचै हाँस्यास्पद छ।”
सुपर लिग शुरु गर्न चाहने क्लबहरु माथि आक्रामक रुपमा प्रस्तुत हुँदै आएका केफेरिनले ती क्लबहरुको नेतृत्व असक्षम रहेको पनि बताए। उनले भने,”सिधा भन्नुपर्दा, यी क्लबहरुको नेतृत्व गर्नेहरु असक्षम छन्। फियोरेन्टिनो पेरेज, जोआन लापोर्टा र आन्द्रे एज्निल्ली फुटबललाई सिध्याउन चाहन्छन्।”
तीन क्लबको आलोचना गर्नेक्रममा केफेरिनले रियल म्याड्रिडले एम्बाप्पे भित्र्याउन प्रयास गरेको बारे पनि बोलेका छन्। सुपर लिग आयोजना नभए क्लब टिक्न नसकने बताउने रियल एम्बाप्पे किन्न सयौं मिलियन खर्च गर्न तयारी रहेको केफेरिनले टिप्पणी गरे।
“फियोरेन्टिनो पेरेज युईएफएको आलोचना गरिरहेका छन् र सुपर लिग आयोजना गरिए मात्रै क्लब बाँच्न सक्ने बताइरहेका छन् । सँगै उनी किलियन एमबाप्पेलाई १ सय ८० मिलियन करोड युरो तिर्न पनि तयार छन्।”,केफेरिनको टिप्पणी छ।